क्षमतावान्लाई अवसरका लागि हामीलाई मतदान गर्नुहोस् : अध्यक्ष लामिछाने — OSNepal

क्षमतावान्लाई अवसरका लागि हामीलाई मतदान गर्नुहोस् : अध्यक्ष लामिछाने

LC (KTM) November 17, 2022 0

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले क्षमतावान्लाई अवसरका लागि आफ्नो पार्टीलाई मतदान गर्न आह्वान गर्नुभएको छ । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उहाँले उहाँले आम जनतालाई प्रलोभनमा नपरी मतदान गर्न आग्रह गर्नुभयो ।

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आम मतदातालाई कुनै प्रलोभनमा नपरी निर्धक्कसँग जनप्रतिनिधि छान्न अनुरोध गर्नुभयो । देशमा नातावाद र कृपावादलाई अन्त्य गर्नेलाई छान्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “देशमा नातावाद, कृपावादलाई अन्त्य गर्न हामी आएका हौँ ।”

आम मानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको भन्दै उहाँले यो बेथिति अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्न अपिल गर्नुभयो । उहाँले भन्नुभयो, “राणा शासनबाट बहुदलीय गणतन्त्रीय व्यवस्थासम्म आइपुग्दा एउटा कुराको समानता छ, क्षमता र दक्षताका आधारमा नभई सधैँ शक्ति केन्द्रमा रहेकासँगको सम्बन्धका आधारमा सामान्य कामदेखि ठूला नियुक्तिसम्म हुने गरेका छन् ।” यही शक्तिका कारण आममानिसको पहुँचबाट राज्य दिन प्रतिदिन टाढिँदै गएको उहाँको भनाइ छ ।

पुराना दलमा पनि विगत ३० वर्षदेखि एउटै अनुहार उम्मेदवार बन्ने गरेको उहाँको भनाइ छ । राजनीतिक सिन्डिकेटका कारण जान्नेले अवसर नपाएको उहाँको भनाइ छ । राजनीतिक दलभित्र होस् वा राज्यका नियुक्ति तथा सामान्य जागिरमा क्षमतावान्ले अवसर पाउने स्थितिका लागि सही नेतृत्व छान्नुपर्ने अध्यक्ष लामिछानेले बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी आमजनताको पार्टीका रूपमा निर्वाचनमा आएको उल्लेख गर्दै उहाँले हरेक काममा नयाँ सोच र नयाँ जाँगरका लागि स्वागत गर्ने बताउनुभयो । दुई सय ५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने, वार्षिक एशिया व्यवसाय कन्फरेन्स गर्ने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।

भ्रष्टाचार नियन्त्रणका लागि कसैलाई नछाड्ने, २४ घण्टा हटलाइनमा नागरिकका गुनासा सुनुवाई गरिने, कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने, शिक्षा प्रणालीमा सुधार गरिने घोषणापत्रमा उल्लेख छ । मजदुर, किसानका लागि विशेष परिचयपत्र, किसान र मजदुरको गुनासो सुन्न विशेष डेस्क, साना व्यापारीसँग हातेमालो, तनावमुक्त सरकारी कार्यालय, स्वरोजगार, साना व्यापारी आदिको हकहितको सुरक्षा तथा सम्मान, अपराध अनुसन्धानमा तीव्रता र कडाइ, ‘फास्ट ट्र्याक’ कोर्ट, सीमासुरक्षा र छोरी जन्मे घरमा उत्सवजस्ता कार्यक्रम पार्टीले अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर