एमालेको सरकार बनेपछि महिलालाई मासिक एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने:ओली — OSNepal

एमालेको सरकार बनेपछि महिलालाई मासिक एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने:ओली

LC (KTM) November 17, 2022 0

गौरादह-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने बताउनुभएको छ । झापाको गौरीगञ्जमा आज आयोजित चुनावीसभामा उहाँले नागरिकको जीवनस्तर उठाउनका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले महिलालाई महिनावारी हुँदा मासिकरूपमा रु एक हजार पाँच सय सेनिटरी प्याड किन्न दिने बताउनुभयो । “त्यसका लागि एमालेकै सरकार बन्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “एमालेको सरकार बनेपछि महिलाले त्यो समस्या भोग्नुपर्ने छैन ।” पूर्वप्रधानमन्त्री ओलीले एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताउनुभयो । उहाँले नागरिकताको समस्या, सुकुम्बासी समस्या अब समाधान गरिने बताउनुभयो । “जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “हामीले गैरनेपालीलाई नागरिकता नदिने भनेका हौँ ।”

अध्यक्ष ओलीले गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताउनुभयो । उहाँले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताउनुभयो । यस्तै ओलीले नदी नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । गौरीगञ्जमा उहाँको अन्तिम चुनावीसभा हो । यसअघि झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गर्नुभयो ।

निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पु¥याउनुस् ।” अध्यक्ष ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको जिकिर गर्दै अहिले आम मतदातालाई जे गर्छौं भनेको छ चुनावपछि त्यही गर्ने आश्वासन दिनुभयो । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वकानूनमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर