काठमाडौँ १ मा रविन्द्रको घरदैलो : युवाको सेल्फी क्रेज, मतदाताको आर्शिवाद — OSNepal

काठमाडौँ १ मा रविन्द्रको घरदैलो : युवाको सेल्फी क्रेज, मतदाताको आर्शिवाद

LC (KTM) November 17, 2022 0

काठमाडौं । राप्रपा नेपालका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र निर्वाचनको मिति नजिकिँदै गर्दा झनै आक्रामक प्रचार प्रसारमा लागिपरेका छन् । काठमाडौं १ का उम्मेदवार मिश्र बुधबार अनामनगरमा भेटिँदा उनले हरेक घरका मतदाताका अगाडि हात जोड्दै भने, ‘यसपटक त ब्यवस्था बदल्ने नै हो । यहाँले हुन्छ मात्रै भनेर भएन मलाई नै मत हाल्नुपर्‍यो । राप्रपालाई जिताउनुपर्‍यो ।’

निरन्तर हाँसिरहने रविन्द्रले अनामनगरका बासिन्दा डीआर राईसँग मत माग्दै भने, ‘यहाँ पनि लेखक साहित्यकार हुनुहुँदो रहेछ । हाम्रो विचार र कुरा मिल्छ । अब राजनैतिक विचार पनि मिलाउनुपर्‍यो । यहाँले मत यसपटक मलाई नै दिनुपर्‍यो ।’

डीआर राईले पनि रविन्द्रको हाँसोमा हाँसो मिलाउँदै भने, ‘हुन्छ हजुर! अघिल्लो पटक पनि हजुरलाई नै दिएको हो । यो पटक पनि फरक पर्दैन ।’ रविन्द्र आभार ब्यक्त गर्दै फेरि अनामनगरकै अर्का बासिन्दा गणेश अधिकारीकहाँ पुगे ।

रविन्द्रले मत माग्दा गणेशले आफ्ना सबै छोराछोरी अमेरिकामा बस्दै आएको र अघिल्लो पटक पनि आँफूले भ्रष्टाचार विरोधी अभियन्ता तथा प्रखर वक्ता रविन्द्रलाई उनीहरुकै आग्रह र घर सल्लहामा रविन्द्रलाई मत दिएको ५ वर्ष अघिको रमाइलो कथा सुनाए । रविन्द्रले हाँस्दै भने, ‘यो पटक त जित्ने नै हो मलाई भोट दिनुहोस् ।’

गणेशले ढुक्क हुन आग्रह गर्दै भने, ‘यस पटक त तपाई नै जित्नुहुन्छ ।’ यी र यस्ता दृश्य काठमाडौं १ मा दोहोरिइरहे । मतदाताले हुन्छ भने रविन्द्रले मत मागिरहे । नेता मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई यसपटक ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन् ।

आफू चुनाव जितेपछि गर्व गर्न योग्य सांसद बनेर देखाउने बाचा उनले अनामनगरबासीहरुका सामुन्ने गरे । अनामनगरमा बेला बेलामा रविन्द्र सेल्फी खिच्न चाहाने युवा मतदाताहरुबाट नै घेरिन्थे । उनी खुशी हुँदै मुस्सुक्क सेल्फीमा मुस्कुराइदिन्थे ।

रविन्द्रको प्रतिस्पर्धा उनै ह्याभी वेट नेता सिंहसँग सामना गर्नु मिश्रलाई फलामको चिउरासरी हुनेछ । अघिल्लो चुनावमा सिंहले १० हजार ९३६ मत ल्याउँदा विवेकशील साझाका मिश्रले १० हजार ११८ मत मात्र ल्याएका थिए ।

तर अहिले उनी राप्रपामा पुगेर राजसंस्थाको एजेण्डा बोकेर चुनावी मैदानमा छन् । काठमाडौं १ बाट सिंह र मिश्रसहित सुशासन पार्टीका रमेश खरेल, एमाले भ्रातृ संगठन युवासंघका अध्यक्ष किरण पौडेल, स्वतन्त्र उम्मेदवार पुकार बम लगायतका चर्चित अनुहारहरु चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर