एकाबिहानै मतदाताहरु लाइनमा, भोट हाल्न छन् आतुर — OSNepal

एकाबिहानै मतदाताहरु लाइनमा, भोट हाल्न छन् आतुर

LC (KTM) November 20, 2022 0

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदाताहरु बिहानैदेखि लाइनमा बसेर आफ्नो मत प्रयोग गर्नमा उत्साहित देखिएका छन् ।

मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन बसेका हुन् । निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् ।

उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् । यसैबिच प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरेका छन् ।

‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नु हुन निर्वाचन आयोग सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछ,’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

निर्वाचन आयोग निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिइ आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावराण बनाउन दृढ संकल्पित रहेकोले यस कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास गर्ने उनले बताएका छन् ।

‘निर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज आम सञ्चारलगायत सबै सरोकारवालाहरुको सहयोग र सहभागिताले आयोगलाई आफ्नो भूमिका निर्वाह गर्न थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त भएकोमा धन्यवाद दिँदै आयोग निरन्तर सहयोगको अपेक्षा गर्दछ,’ थपलियाले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर