सुकुम्बासी बस्तीमा बालेनको खाँचो ! — OSNepal

सुकुम्बासी बस्तीमा बालेनको खाँचो !

LC (KTM) November 25, 2022 0

अनुसा थापा – सरकारले केही दिनअघि खोला किनारामा रहेका सुकुम्बासी बस्तीलाई हटाउने निर्णय गरेको थियो । खोला छेउछाउ सरकारी जग्गा कब्जा गरेर बसेका सुकुम्बासी बस्तीलाई हटाउन १० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । तर, राजनीतिक दलका शीर्ष नेताहरु नै यसको विरोध जनाए । सरकारको सूचना राजनीतिक दललाई भोट लिने अस्त्र बन्यो । सुकुम्बासी हटाउनुहुँदैन् भनेर नेताहरु सूचनाको विरोधमा खडा भए ।
काठमाडौंमा घरजग्गा हुनेले सुकुम्बासीको नाम लिएर सरकारी जग्गा अतिक्रमण गरेका छन् । आफ्नो घर भाडामा लगाएर खोलाको किनारा जमाएर बसेका छन् । यहाँ घरजग्गा भएपनि आफ्नो थातथलोमा त अवश्य पनि होला । अरुलाई जग्गा कमाउन दिएर नौटंकी देखाएर उनीहरु बसेका छन् । राजनीतिक दलकै आडमा सरकारी जग्गा कब्जा भएको बुझिन्छ ।

खोलाको दायाँबायाँ सुकुम्बासी बस्ती बस्न दिँदा खोला दुर्गन्धित भएको छ । उनीहरुले आफ्नो घरबाट निस्केको फोहोरसमेत खोलामै फ्याकिरहेका छन् । सरकारले खोलाको दायाँबायाँबाट कोरिडोर निर्माण गर्ने सुरसार कसेको छ । तर, यी सुकुम्बासी बस्तीका कारण सरकारलाई नै हात बाँधेर बस्नुपर्ने बाध्यता छ । कोरिडोर खुलायो भने ट्राफिक जाम कम हुन्छ ।

ट्राफिक व्यवस्थापनमा सहजता पुग्छ । सुकुम्बासीको नाममा देशैभरी सरकारी जग्गा कब्जा भएको छ । त्योभन्दा बढी उपत्यकामा जग्गा अतिक्रमण गरेको पाइन्छ । काठमाडौं मुलुकको राजधानी हो । ७७ जिल्लाकै जनता यहाँ बस्छन्, घुम्न आउँछन् । विदेशी पाहुनाहरु पनि उपत्यकामै बस्न रुचन्छन् । तर, यी सुकुम्बासी बस्तीका कारण शहरको सुन्दरतामा ह्रास आएको छ ।

खोला वरिपरि टहरा हालेर ढाकेर बसेका छन् । हेर्दै निकै फोहोर र अव्यवस्थित देखिन्छ । मुलुकमा यत्रो निकाय छ तर कसैले पनि सुकुम्बासीलाई हल्लाउनसमेत सक्दैनन् । शहरी विकास मन्त्रालय, विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय सरकार सुकुम्बासी बस्ती हटाउन असमर्थ रह्यो । यसको प्रमुख कारण राजनीतिक दल नै हुन् । सुकुम्बासीको नाममा दलहरुले राजनीति गरेका छन् ।

सुकुम्बासीको नाम लिएर आफैंले सरकारी जग्गा कब्जा गरेका छन् । सरकारले सुकुम्बासी हटाउने सूचना निकालेपछि काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को नवनिर्वाचित सांसद् प्रकाशमान सिंह सुकुम्बासी बस्तीमै पुगेका थिए । उनले सुकुम्बासी हटाउनु हुँदैन्लगायत उनीहरुको पक्षमा आवाज उठाइदिएको जस्तो गरिदिए । यति नभनेको भए सायदै उनले चुनाव जित्थे होलान् ।

आफू संसद्मा जानका लागि सरकारको निर्णयविरुद्ध प्रकाशमान उभिए । सुकुम्बासी हटाउन नेता नै बाधा बनिदिएका छन् भन्ने कुरा यहाँबाट प्रष्ट हुन्छ । प्रकाशमान त जनताले देख्ने गरी आए । उनकै कारणले सुकुम्बासी नहटेको रहेछ भन्ने जनताले थाहा पाए । पर्दाभित्र बसेर सुकुम्बासीलाई उचाल्ने त कति होलान् कति ? आन्दोलन गर्न सिकाउने, जग्गा छोड्न नदिनेलगायतका काम राजनीतिक दलका नेताबाटै भइरहेको छ ।सरकारले सुकुम्बासीलाई जग्गा दिने भन्ने कुरा नै गलत छ । सित्तैमा लालपूर्जा पाउने भएपछि कसले मेहिनेत गर्छ ? काम नै नगरी जग्गा पाउँछ भन्ने मनशाय उनीहरुमा छ । काम गर्नुको साटो जाँड खान्छ, दिनभरि हल्लिन्छ । बस्नलाई सरकारले जग्गा दिइहाल्छ भनेर सोचाइ सुकुम्बासी बस्तीमा देखिन्छ । कोठा बहाल पनि तिर्न नपर्ने । सरकारले सुकुम्बासीलाई जग्गा दिने नीति खारेज गर्नुपर्छ ।

दिएको पनि सरकार कै नाममा फिर्ता ल्याउनुपर्छ । साँच्नै नै भन्ने हो भने नेपालमा कोही पनि सुकुम्बासी छैनन् । काम गरेपछि, मेहिनेत गरेपछि जग्गा किन्न सकिन्छ । काम नै नगर्ने अनि जग्गा खोजेर पाइन्छ ? जन्मपछि नमरुञ्जेल मान्छेले मेहिनेत गर्नुपर्छ । राजनीतिक दलले सुकुम्बासी र खोलाका छेउका बस्ती हटाउन सक्दैनन् । किन कि उनीहरुले सुकुम्बासीलाई भोट बैंक बनाएका छन् ।

यसका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकै खाँचो पर्छ । महानगर प्रहरी र बालेन एक्शनमा नउत्रिएसम्म सुकुम्बासी हटाउन सम्भव छैन् । बालेन र महानगर प्रहरी डोजर लिएर खोला छेउ पुग्न ढिलो भइसकेको छ । सरकारी जग्गा कब्जा गर्नेलाई माया दया देखाएर काम छैन् । कोठा भाडा तिर्न सक्दैनौ भन्ने उनीहरुको नाटक मात्र हो । बहाल तिर्नका पसिना बगाउनुपर्यो ।

नभए आआफ्नो जन्मथलो फर्किनुपर्यो । काम गर्न नचाहने अनि हामीसंग केही छैन् भन्दै नौटंकी देखाउने ? काठमाडौंमा प्रशस्तै कोठा बहालमा पाइन्छ । दुःख गर्नुपर्यो, कोठा लिएर बस्नुपर्यो । सरकारी जग्गा कब्जा गरेर कतिञ्जेल बसिरहने ? बालेनले थन्काएर राखेको डोजर फेरिपनि चलाउने बेला भइसकेको छ । महानगर प्रहरी पनि सुकुम्बासी हटाउनका लागि कठोर भएर उत्रिनुपर्छ ।

सय जनालाई क्षति पुर्याएर हजारौंलाई फाइदा पुग्ने काम गर्न महानगर डराउनुहुँदैन् । सुकुम्बासी बस्तीको लागि यो एउटा सिक पनि हो । आन्दोलन गर्दैमा जग्गा पाँइदैन्, मेहिनेत गर्नुपर्छ भनेर उनीहरुले पनि सिकुन् । काठमाडौंका मेयर बालेन र नगर प्रहरीले आफ्नो मुटुमाथि ढुंगा नराख्ने हो भने खोला कहिल्यै पनि सफा हुँदैन् । व्यवस्थित र सुन्दर शहरको सपना नदेखेपनि हुन्छ । खोला छेउछाउबाट कोरिडोर खुलाउने कार्य कहिल्यै पूरा हुँदैन् ।
राजनीतिक दलको दबाब आओस् या प्रधानमन्त्रीको सुकुम्बासी बस्ती हटाउन बालेन अघि बढ्नुपर्छ । यी राजनीतिक दलको कुरा सुन्न थाल्यो भने देश कहिले पनि विकास हुँदैन् । सुकुम्बासी हटाउन सक्यो भने अबको पाँच वर्षपछिको देशको प्रधानमन्त्री बालेन हुन्छन् । सुकुम्बासी बस्ती हटाउन नसक्ने, सरकारी जग्गा, गुठी र सार्वजनिक जग्गा सरकारकै नाममा फिर्ता ल्याउन नसक्ने हो भने उनको हालत पनि केशव स्थापितजस्तै हुन्छ ।
जनताले उनले गरेको काम हेर्छन्, उनको मुख हेर्ने होइनन् । बालेनले राम्रो काम गरे भने देशभरका जनता उनको पक्षमा हुन्छन् । उनलाई साथ र समर्थन गर्न जनताको ओइरो लाग्छ । बालेनको काम देखेर हुरुक्कै भएका भक्तपुरका निवर्तमान सांसद् महेश बस्नेतलाई जनताले सही ठाँउ देखाइदिएका छन् ।उनले बालेनलाई भन्न नहुने कुरा भने । छिनका लागि चर्चा कमाउछु भनेर महेशले उनलाई गाली गरे । भक्तपुर कै जनताले महेशलाई सजाय दिए । उनलाई भोट नदिएर चुनावमा पराजित गरिदिए । जनता यति शिक्षित भइसकेका छन् । कुन कुरा सही कुन गलत ? भनेर छुट्याउन सक्ने भइसकेका छन्, नेपाली जनता । काठमाडौंका धेरै क्षेत्रमा नयाँ अनुहार देख्न पाइयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले वरिष्ठ भनिएका नेताहरुलाई हराइदिए । बालेनको काम जनतालाई कति मनपरेको रहेछ ? भन्ने कुरा यहाँबाट प्रष्ट भएको छ । कुनै राजनीतिक दल वा सरकारले गर्न नसकेको काम अब बालेनले गर्नुपर्ने हुन्छ । यो चुनौती र जिम्मेवारी बालेनको हातमा आइपुगेको छ । बालेनले तत्काल सुकुम्बासी हटाउन महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई निर्देशन दिए भने उनले यो जिम्मेवारी पूरा गर्नेछन् ।
देशभरका जनताले बालेन र राजुको काम एकदम रुचाएका छन् । राजु पाण्डे आँटिलो र क्षमतावान प्रहरी हुन् । ललितपुर र भक्तपुरका नगर प्रहरी दिनभर घाम तापेर बस्छन् । जुम्रा केलाएर दिन कटाउँछन् । काठमाडौं महानगर प्रहरीहरु एकछिन हात खाली नराखीकन काममा खटिएका छन् । फुटपाथ व्यवसायी हटाएरै छाडे । बाटो मिचेर बनाएका घरहरुमा डोजर चलाए ।

होर्डिङ बोर्ड हटाए । तर, अन्य जिल्लाका नगर प्रहरी तलब भत्ता खाने र दिन कटाउने काम मात्र गरिरहेका छन् । भक्तपुर र ललितपुरको मेयरसंग त जनतालाई आश पनि छैन् । तर, बालेनसंग जनताले धेरै अपेक्षा राखेका छन् । सुकुम्बासीले भक्तपुर र ललितपुरमा पनि सरकारी जग्गा कब्जा गरेर बसेका छन् । तर, उनीहरुलाई हटाउन कुनै चासो दिइएको पाँइदैन् ।

बालेनले शुरु गर्नेबित्तिकै उनको देखासिकी गर्न थाल्छन्, अन्य जिल्लाका मेयरहरु । बालेनले अरु जिल्लाका मेयरहरुलाई सुकुम्बासी हटाउनुपर्छ, सरकारी जग्गा खोताल्नुपर्छ भनेर पाठ सिकाउनुपर्छ । सरकारले पटकपटक सुकुम्बासी हटाउन सूचना जारी गर्यो । तर, आजसम्म सो समस्या ज्युँको त्यु छ । बालेन अघि बढे भने यो पनि सम्भव छ । सुकुम्बासीहरुले आन्दोलन गर्दै सरकार झुक्नुहुँदैन् ।यिनीहरु सुकुम्बासी नै होइनन् । खोलाको दायाँबायाँबाट सुकुम्बासी हटाएर वृक्षरोपण गर्नुपर्छ । पार्क निर्माण गर्नुपर्छ ।

घनाबस्ती बसेको छ, कँही गएर बसौं भन्दा खुला ठाँउ छैन् । सरकारले पार्क निर्माण गरिदियो भने त्यहाँ गएर बस्न पाइन्छ । प्रकृतिको आनन्द लिन पाइन्छ । सुकुम्बासी, भूमाफिया र सरकारी कर्मचारीको मिलोमतोमा व्यक्तिको नाममा गएका सरकारी जग्गा खोताल्न सके भने बालेनको चर्चा आँउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर