बागलुङको नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले निवारण उन्मुख — OSNepal

बागलुङको नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले निवारण उन्मुख

LC (KTM) December 05, 2022 0

बागलुङ – बागलुङ नगरपालिका-१४ नारायणस्थानमा १३ वर्षपछि हात्तीपाइले सङ्क्रमण दर एक प्रतिशतभन्दा तल झरेको छ । विसं २०६६ मा ‘बेसलाइन सर्वे’ हुँदा १३ प्रतिशतमा सङ्क्रमण देखिएको नारायणस्थानमा २०७९ को प्रारम्भिक परीक्षण गर्दा एक प्रतिशतभन्दा कम सङ्क्रमण भएको नतिजा आएको हो ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा र स्वास्थ्य कार्यालय बागलुङले नारायणस्थानमा आम औषधि सेवन अभियानअघि प्रारम्भिक परीक्षण गरेका थिए । नारायणस्थानमा तीन सय ४७ जनामा गरिएको परीक्षणमा एक जनामा मात्रै हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो ।

यसअघि सन् २०१४ मा तीन प्रतिशत, २०१६ मा दुई दशमलव तीन प्रतिशत, २०१८ मा चार दशमलव ६७ प्रतिशत र २०२१ मा गरिएको प्रारम्भिक परीक्षणमा दुई दशमलव ६४ प्रतिशतमा हात्तीपाइले रोगका जीवाणुको सङ्क्रमण देखिएको थियो ।

‘‘नारायणस्थानमै भएको बेसलाइन सर्वेमा महामारीको रुप लिनथालेको भेटेपछि बागलुङमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको थियो’’ स्वास्थ्य कार्यालय बागलुङका स्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भन्नुभयो, ‘‘यो पटक शुन्य दशमलव २८ प्रतिशतमा झरेको छ ।” उहाँले अब अन्तिम पटक आम औषधि सेवन अभियान सञ्चालनपछि परीक्षण हुने र दुई प्रतिशतभन्दा कम भए आम औषधिसेवन कार्यक्रम सञ्चालन नहुने बताउनुभयो ।

विसं २०७८ मा गरिएको परीक्षणमा नारायणस्थानमै दुई दशमलव ६४ प्रतिशतमा सङ्क्रमण देखिएपछि बागलुङमा पछिल्ला दुई वर्ष आम औषधि सेवन अभियान सञ्चालन गरिएको थियो । कार्यालयले माघ अन्तिम साता १४औंँ पटक स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गर्दैछ ।

‘‘यो पटक अन्तिम हो भन्ने लागेको छ, अब औषधि सेवनपछि अर्को जाँच हुन्छ’’, शर्माले भन्नुभयो, ‘‘सामान्यतया छ वर्ष आम औषधि सेवनपछि हात्तीपाइले निवारण हुनुपर्ने हो, हामीले १४ वर्ष प्रयास गर्नुपर्यो ।’’

‘विश्वव्यापी मापदण्डअनुसार परीक्षण गरिएकामध्ये दुई प्रतिशतभन्दा कममा सङ्क्रमण नदेखिएसम्म पटक–पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्नुपर्छ, नारायणस्थानमा गत वर्षदेखिएकाले अहिले पनि अभियान सञ्चालन गर्नुपरेको कार्यालयको भनाइ छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका ल्याब टेक्निसियन निरीक्षक रामबालक रायले भन्नुभयो। ‘‘यो पटकको प्रि–टास पास भए एकपटक मात्रै आम औषधि सेवन अभियान सञ्चालन गरेर जिल्ला पास हुन्छ ।’’

यसपटक पनि ‘प्रि-टास’ पास नभए आम औषधि सेवनको विधि परिवर्तन गरी थप औषधिसहित दुई वर्षे अभियान सञ्चालन गर्ने रणनीति तालिम केन्द्रले बनाएको थियो । नारायणस्थानमा पछिल्ला दुई वर्ष औषधि सेवन गर्नेलाई खोप कार्ड नै दिएर कार्ड नबनाउनेका सरकारी सेवा सुविधा रोक्का गर्ने भनेपछि नतिजा सकारात्मक आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर