नेइमार चम्किँदा ब्राजिलले निकाल्यो शानदार जित, दक्षिण कोरिया ४-१ ले पराजित — OSNepal

नेइमार चम्किँदा ब्राजिलले निकाल्यो शानदार जित, दक्षिण कोरिया ४-१ ले पराजित

LC (KTM) December 06, 2022 0

काठमाडौं । पाँचपल्टको विश्व विजेता ब्राजिलले एशियाली मुलुक दक्षिण कोरियामाथि ४ – १ गोलअन्तरको शानदार जित निकालेको छ । कोरियालाई पराजित गर्दै ब्राजिल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दक्षिण कोरियाली रक्षापंक्ति तहसनहस पार्ने क्रममा उसले खेलको सातौं मिनेटमै नेइमारको पासमा रियल मड्रिडका युवा स्ट्राइकर भिनिसियस जुनियरले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको केहि समयपछि नै ब्राजिलले पेनाल्टी पायो ।

नेइमारले पेनाल्टीमा गोल गरी अग्रता दोब्बर बनाए । नेइमारले राष्ट्रिय टिमका लागि ७६ औं गोल गरेका छन् । उनी ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले पछाडि छन् ।

त्यस्तै ब्राजिलका लागि खेलको २९औं मिनेटमा एभर्टन स्ट्राइकर रिचार्लिसनले गोल गरे । त्यस्तै पहिलो हाफमा नै पेनाल्टी एरियाबाट लुकास पाक्वेटाले अर्को गोल थपे । जुन ३६औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा लुकास पाक्वेटाले गरेका थिए ।

दोस्रो हाफको ७६औं मिनेटमा कोरियाले सान्त्वना गोल फर्काए पनि उ जित विहिन बन्दै घर फर्किन बाध्य बन्यो ।

ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल आगामी आइतबार हुनेछ । सोमबारै भएको खेलमा अर्को एसियाली देश जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरी क्रोएसिया क्वाटरफाइनलमा पुगेको हो ।

यो पनि : पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै साबिक उपबिजेता क्रोएसिया बिश्वकपको अन्तिम आठमा : कडा संघर्षका बीच साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल जानुब स्टेडियममा केहीबेर अघि सम्पन्न खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै क्रोएसिया अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । क्रोएसियाका लागि गोल किप्पर नायक बने । उनले ३ जापानी खेलाडीको पेनाल्टी रोकेका थिए ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न चुकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर