“एकपटकको नेपाली, सधैको लागि नेपाली” भन्ने नारालाई नारामा मात्रै किन सिमित ? आफ्नो धारणा राख्नु हुन आग्रह — OSNepal

“एकपटकको नेपाली, सधैको लागि नेपाली” भन्ने नारालाई नारामा मात्रै किन सिमित ? आफ्नो धारणा राख्नु हुन आग्रह

LC (KTM) December 06, 2022 0

लेख्नै पर्ने भयो, बोल्नै पर्ने भयो….!!! बिष्णु बर्सिंह थापा, अस्ट्रेलिया

एउटा यूवा जो आफ्नो पारिवारिक कारण होस् या देशको विकराल  अवस्थाको कारण होस् या आफ्नै कैंयौ बाध्यताको कारणले आफ्नो मुटु भन्दा पनि प्यारो जन्मभूमि, मातृभूमिलाई छोडेर, आफू जन्मेर टेकेको धर्तिलाई छोडेर विदेशिन्छ, विदेशमा बस्दा, रहदा आफूलाई सजिलो होस्, सहज होस् भनेर हरेक कानूनी प्रक्रियाहरू पूरा गरेर त्यो देशको नागरिकता लिन्छ र फेरी केहि समयको अन्तराल पछि आफ्नै जन्मभूमिमा फर्केर केहि गर्छु, आफ्नै माटोमा पसिना पोख्छु भनेर, देश र जनताको सेवा गर्छु भनेर दिन रात मिहिनेत गर्छ, आफ्नो कर्मले जनताको मन जित्छ र आफ्नो प्रतिवद्धता अनुसार समाज, देश र जनताको लागि काम पनि गर्छ, जसले बिदेशमा रहेका कैंयौ योग्य यूवाहरूलाई आफ्नै देशमा फर्केर केहि गर्नु पर्छ भनेर आफ्नै देश फर्कौ यूवा भन्ने अभियान चलाउँछ, आज त्यहि युवालाई अनेक दुख, झन्झट, आरोप, प्रत्यारोप लगाएर फेरी विदेश नै गए हुन्थ्यो जस्तो ब्यबहार हुन्छ, भईरहेको छ, सार्है दू:ख लाग्छ। विदेशमा रहेर अध्ययन, व्यवसाय गरिरहेका युवाहरू जो आफ्नो ज्ञान, सीप र आर्थिक अवस्थालाई दरिलो र मजबुत बनाएर केहि समय पश्चात आफ्नै जन्मभूमिमा फर्कने योजना बुनिरहेका छन्, ति यूवाहरुलाई कस्तो संदेश जाला त?

कमसे कम उनलाई काम गर्ने अवसर त देऊ न, यदि उनि गलत मान्छे हुन् या सहि मान्छे हुन् भन्ने कुरा समयले बताउला नि, होईन र? मान्छेलाई जे पनि भन्दिने? जे पनि बोल्दिने? आफ्नो अनुहार हेर्नु भन्दा पहिला ऐनालाई दोष दिनु भएन नि। तिमी भ्रस्ट, फटाहाहरू देश मै रहेर के चाँही राम्रो काम गरिरहेको छौ र? देश लुट्ने, राष्ट्रको ढुकुटि निमिट्यान्न पार्ने, आफ्नै देश भित्र रोजगारीका अवसरहरूका ढोका बन्द गराएर, भएका कल कारखानाहरू बेची खाएर युवाहरूलाई जबर्जस्ति बाध्य बनाएर विदेश पठाउने अनि उनीहरूको  रगत र पसिनाको होलि खेल्दै रेमिट्यान्सले मोज, मस्ती लुट्ने भन्दा बाहेक अरू के नै गरेको छौ र लुटेराहरू तिमीहरूले? अरबौं अरबौं भ्रष्टचार गर्दा कानून नलाग्ने तिमी भ्रष्टहरूलाई?? मान्छे मार्दा, हत्या गर्दा कानून नलाग्ने तिमी हत्याराहरूलाई? सत्ताको लोभमा, आफ्नै स्वार्थको लागि विभिन्न सन्धि, सम्झौता गर्दै नदि, खोला नालाहरू बेच्दा कानून नलाग्ने तिमी दलालहरूलाई? आफ्ना मालिकहरूको निर्देशनमा, ईशारामा सत्ता, शक्ति र पैसाका पूजारी केहि कालाकोटेहरू जसले निर्मला पन्तहरूलाई न्याय दिन उचित ठानेनन् तर एउटा यूवा जो एकदमै ठूलो अपराधी हो जस्तै गरि हात धोएर पछाडी लागेका छन्।

अहिलसम्म कति गैर बिदेशी नागरिकहरूलाई गैर कानूनी बाटोबाट नागरिकता बेचेको छौ पैसाको लागि आफ्नो राष्टियता नै बन्धकी राख्ने तिमी गद्दारहरूले, कुनै लेखाजोखा छ?? सित्तैमा पाए मट्टितेल पनि पिउने र अलकत्रा पनि निल्ने केहि अलपत्रकार र तिनीहरूको मागिखाने भाँडो सोसल मिडियाहरू  कालो अरिंगालले जस्तै पानी मुनि गए पनि नछोड्ने गरि निर्ममतापूर्बक लागेका छन्। आफ्नो परिवार, आफ्नो माटो, आफ्नो धर्ति छोडेर अर्काको देशमा शरणार्थी जस्तो भएर बाँच्ने रहर कुन नेपालीलाई होला र?? अर्काको रगत, पसिना चुसेर ढाडिएको उडुस जस्तै भएका, जूका जस्तै भएका तिमी अपराधिहरूलाई के थाहा यस्तो पिंडा?? #धिक्कार छ तिमीहरूलाई। नेपाल आमाको श्रापले भत्भति पोल्ने छ तिमीहरूलाई। हरेक यूवाहरुको आँशुले पोल्ने छ धमिलो पानीमा माछा मार्न पल्केका दुष्ट तिमीहरूलाई।

#लौ न Dave Tamu Nanda Gurung दाजुहरू यो सबेदंशील बिषयमा आफ्नो धारणा राख्नु पर्यो। “एकपटकको नेपाली, सधैको लागि नेपाली” भन्ने नारालाई नारामा मात्रै सिमित राख्नु भएन।  ब्यबहारमा पनि लागू गर्नु पर्यो। यसलाई बिस्वब्यापी बनाउन गैर आवासिय संघ अष्ट्रेलिया (NRN, Australia)ले शसक्त अभियानको रूपमा अगाडि बढाउनु पर्यो।केवल राजनीति गर्ने थलो मात्रै बनाउनु भएन।

#जय मातृभूमि।
#जय चन्द्र सूर्य  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर