चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा ठाकुरको पुनःवहाली — OSNepal

चार वर्षपछि मकरीगाड हाइड्रोपावरमा ठाकुरको पुनःवहाली

LC (KTM) December 08, 2022 0

काठमाडौँ-श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर १४ गते पुनःवहाली गर्ने फैसला गरेको हो ।

हाइड्रोपावरले बर्खास्त गरेपछि पुनःवहालीको माग गरी श्रम अदालतमा चलेको मुद्दामा चार वर्षपछि ठाकुरलाई सेवाबाट हटाएको मितिदेखि पारिश्रमिक तथा सम्पूर्ण सेवा सुविधासहित पुनःवहाली गर्न भनिएको छ ।

विसं २०७५ मङ्सिर ७ गते ठाकुरलाई हटाउने निर्णय गरिएको थियो । उक्त निर्णय बदर गर्न माग गर्दै ठाकुरले जिल्ला अदालत काठमाडौँ, श्रम तथा रोजगार कार्यालय काठमाडौँ तथा श्रम अदालत लगायतका निकायमा लामो समयदेखि मुद्दा खेप्दै आउनुभएको थियो ।

व्यवस्थापन पक्षले पदमा समेत सम्झौता नगरी काममा लगाएको र सेवाबाट हटाउँदा सूचना नदिइ हटाएकाले व्यवस्थापनको निर्णय गैरकानुनी भएको हुँदा उक्त निर्णय बदर भएको जनाइएको छ ।

अदालतको फैसला बमोजिम ठाकुरको सेवामा पुनःवहाली नभएसम्मको पारिश्रमिक, सेवा, सुविधासमेत गरी करिब रु एक करोड दिन र सेवामा पुनःवहाली गर्न आदेश भएको छ । श्रम ऐन, २०७४ को कानुनी व्यवस्था विपरीत सेवाबाट हटाएको अवस्थामा उक्त ऐनको दफा १७२(१) बमोजिम सेवामा पुनःवहाली भई सेवा सुविधा पाउने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर