कोरोनाको ‘हट स्पट’ भनिएको बागलुङमा पूर्वाधार र जनशक्तिको अभाव,शव व्यवस्थापनमा सबैभन्दा ठूलो चुनौती — OSNepal

कोरोनाको ‘हट स्पट’ भनिएको बागलुङमा पूर्वाधार र जनशक्तिको अभाव,शव व्यवस्थापनमा सबैभन्दा ठूलो चुनौती

LC (KTM) May 13, 2021 0

बलेवा, ३० वैशाख (रासस) : कोरोना महामारीसँग जुध्न आवश्यक साधन स्रोतको जिल्लाभर अभाव देखिएको छ । धौलागिरि अस्पताल र स्थानीय तहले निर्माण गरेका अस्थायी कोभिड अस्पताल तथा आइसोलेशनमा साधन स्रोतको अभाव हुन थालेको हो । साथै आवश्यक मात्रामा पूर्वाधारको खाँचो त यहाँ छँदैछ ।कोरोनाका कारण मृ त्यु भएकाहरुको शव व्यवस्थापनमा जिल्लामा सबैभन्दा ठूलो चुनौती देखिएको छ । जिल्लाभर एक शवबहान समेत नरहेकाले संक्रमितको श व व्यवस्थापनमा समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

‘‘शव व्यवस्थापनको लागि डबल क्याब्व पिकअप भ्यान भएपनि केही महिनालाई भाडामा लिनुपर्ने अवस्था छ’’ स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोतव्यक्ति देव प्रकाश घिमिरेले भन्नुभयो ‘‘अहिलेको मुख्य चुनौती एम्बुलेन्स, शवबहान, पीपीई र अन्य स्वास्थ्य सामग्री हुन् ।’’ अस्पतालको आइसोलेशनमा काम गरिरहेका स्वास्थ्यकर्मीले समेत स्वास्थ्य सामग्रीको अभाव महसुस गर्न थालेका छन् ।

‘‘राम्रो खालको पिपीई अस्पतालको आइसोलेशनमा पनि आवश्यक छ ।’’ धौलागिरी आइसोलेशन इन्चार्ज शान्ति भण्डारीले भन्नुभयो । महामारीकै समयमा विदेश र जिल्ला बाहिरबाट आउनेहरु बढेकाले बागलुङ नगरपालिकाले होल्डिङ सेन्टरको महसुस गर्न थालेको छ । रामरेखामा रहेको कर्भड हलमा ३० जना अट्नेगरी होल्डिङ सेन्टर बनाउने तयारी थालेको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।

जिल्लाको जैमिनी नगरपालिकामा कोरोना सङ्क्रमण भएका बिरामी बोक्ने सवारीको अभाव छ । नगरपालिकाले निर्माण गरेको आइसोलेशनसम्म बिरामी पु¥याउन सवारी साधनकै अभावमा कठिन हुने गरेको स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताउनुभयो ।

नगरपालिकाले निजी सवारी साधन भाडामा लिएर कोरोना सङ्क्रमित बिरामीको लागि उपलब्ध गराउने तयारी थालेको छ । कोरोना कोष तथा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक बजेट बिनियोजन नभएका कारणले पनि स्थानीय तहहरु समस्यामा छन् । स्थानीय स्तरमा नै स्रोत साधनको व्यवस्थापन गर्न बजेटको समेत अभाव हुन थालेको बताउँछन् ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हिमबहादुर भण्डारीका अनुसार गलकोटमा अक्सिजनको अभाव छ । अक्सिजन भर्न गलकोटमा रहेका सिलिण्डर पोखरा पठाउने तयारी भैरहेको भण्डारीले बताउनुभयो । तत्काल अक्सिज सकिँदा त्यसमा पुनः भर्न पठाउनुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था नहुँदा गलकोटमा अक्सिनको अभाव हुने छ । उहाँका अनुसार गलकोटमा पिपीई सेट, मास्क र स्यानिटाइजरको समेत अभाव छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेशनमा भेण्टिलेटरको आवश्यकता महसुस गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्माले बताउनुभयो । काठेखोला गाउँपालिकाले ज्वरो नाप्ने थर्मल गनको आवश्यकता रहेको बताएको छ । अक्सिजन र अन्य स्वास्थ्य सामग्री पर्याप्त रहेको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताउनुभयो ।

सक्रिय सङ्क्रमित ३२ जना रहेको ताराखोलामा पिपीई सेट, मास्क र स्यानिटाइजरको समेत अभाव छ । बिरामी बढेकाले आइसोलेशन शय्या थप गर्नुपर्ने, भाडाकुँडा, खाद्यान्न, सर्भिङ टर्ली समेतको अभाव रहेको स्वास्थ्य शाखाले जनाएको छ । ताराखोलामा थर्मल गन समेत छैन ।

वडिगाड गाउँपालिकामा शय्याका लागि आवश्यक समाग्री र निसीखोला, तमानखोला र बरेङ गाउँपालिकामा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्रीको अभाव रहेको छ । बरेङ गाउँपालिकाले एम्बुलेन्सको अभावकै कारण गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सवारी साधन एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याएको छ । विदेशमा रहेका नेपालीहरुले महामारीसँग जुध्नका लागि सहयोग गर्ने भएका छन् । पत्रकार महासंघको संयोजनमा स्थानीय तहलाई सहयोग गर्न तयार भएको तथ्याङ्कअनुसार बागलुङका स्थानीय तहमा स्वास्थ्य सामग्रीको समेत अभाव रहेको जिल्ला शाखा अध्यक्ष नरेश कँडेलले बताउनुभयो । स्थानीय तहले गरिरहेको तयारीबीच बिरामीको उपचार र सम्भावित जोखिमसँग जुध्न स्रोत साधनको अभाव भएको हो ।

अस्पतालमा शय्याकै अभाव

नेपाल सरकारले गत वर्षको बजेटमै धौलागिरि अस्पताललाई दुई सय शय्या क्षमताको बनाउने घोषणा गरेको थियो तर अहिलेसम्म त्यो नीति कार्यान्वयनमा आएको छैन । मन्त्रालय तहबाट झण्डै एक सय शय्या अस्पतालका लागि आइसकेका छन् । ती शय्या अस्पतालको स्टोरमा थन्केका छन् । अहिले अस्पतालमा धेरै बिरामी आउन खोज्दा शय्या नपाएर फर्कनु परेको छ । अधिकांश घर घरमै छन् ।

यो समस्याका पछाडि शय्या जडान नहुनु मात्रै नभएर अस्पतालको भवन बनिनसक्नु प्रमुख कारण भएको छ । धौलागिरि अस्पतालको आइसोलेशनमा आउन दैनिक कोरोना सङ्क्रमितका आफन्तले खोजी गरेपनि ठाउँ नपाएर पर्केका छन् । काठमाडाँैमा शय्या नपाएर यहाँ आइरहेकोले अस्पताल भरिभराउ छ । अहिले अस्पतालमा २८ जना जटिल समस्या भएका सङ्क्रमित छन् भने अरु सबै घर घरमा बसेका छन् ।

सीमित शय्यामा जटिल समस्या भएकालाई मात्रै राखेर उपचार गर्नुपरेपछि सामान्य बिरामीलाई घरमै बस्न लगाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले बताउनुभयो । निर्माणाधीन ‘सि ब्लक’ अलपत्र परेकोले ती शय्या जडान गर्न नसकिएको हो । शय्या स्टोरमा थन्किदा बिरामी भने घरमा बस्न बाध्य छन् ।

करिब छ वर्षअघि सकिनुपर्ने अस्पताल अलपत्रै परेपछि ल्याएका शय्या स्टोरमा थन्क्याउनु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताउनुभयो । शय्या स्टोरभित्रै माकुराको जालोले घेरिएको रानाले बताउनुभयो । उहाँले भवन बनाउने ठेकेदार अझै देख्न नपाएको टिप्पणी समेत गर्नुभयो । निर्माणाधीन भवनको भुईँतल्ला वा छतमा व्यवस्थापन गरेर शय्या राख्न खोज्दा लाखौँ रुपैयाँ खर्च लाग्ने उहाँको अनुमान छ । अस्पतालले सञ्चालनमै रहेको भवनको छलमा जस्ताको छानो राखेर शय्या व्यवस्थापन गर्ने र उपचार गर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालय पोखरालाई पठाएको छ तर बजेटको स्वीकृत नआउँदा अभाव खेप्नुपरेको अध्यक्ष रानाले बताउनुभयो ।

ठेकेदारलाई पटक पटक सम्पर्क गरेपनि काम अलपत्र छाड्ने गरेको उहाँले टिप्पणी गर्नुभयो । छ वर्षअघि सक्नेगरी मिलेनियम बिल्डर्स निर्माण सेवाले भवनको ठेक्का लिएको थियो तर अहिलेसम्म काम नसकेको हो । अघिल्लो वर्ष अस्पताल व्यवस्थापनले हस्तान्तरण नभएको बी ब्लक आफ्नै खर्चमा मर्मत गरेर चलाएको थियो । सी ब्लकका लागि भने लाखाँ रुपैयाँ खर्च गर्नुपर्ने भएपछि व्यवस्थापनले हस्तक्षेप समेत गर्न नसकेको रानाले बताउनुभयो ।

ठेकेदार कम्पनीका प्रमुख शिव ढकालले तीन वर्षअघिको असार मसान्तमा सक्ने आश्वासन दिएपनि अहिलेसम्म अलपत्रै परेको हो । धौलागिरि अस्पतालमा अहिले ५० शय्या मात्रै छन् । ती पनि सबै आइसोलेसन होइनन् । ‘‘ठेकेदारले नयाँ भवन हस्तान्तरण नगरेसम्म स्टोर पनि खाली गर्न नसकिने भयो’’ डा. पोखरेलले भन्नुभयो, ‘‘जटिल बिरामीलाई समेत शय्या अभाव भएको छ, आइसोलेशन बढाउने योजना पूरा गर्न सकिएन ।’’

बागलुङमा बुधबारसम्म चार सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । तीमध्ये अधिकांश होम आइसोलेशनमा छन् । समस्या परेर आउन खोज्नेलाई समेत शय्या नभएर घरमै बस्न भनिएको उहाँले बताउनुभयो ।

अस्पतालमा प्रसुती, डायलायसिस, दन्तसेवा, ल्याबलगायतका लागि झण्डै २५ शय्या चाहिन्छ । प्रयोगमा ल्याउन नपाएर वार्डमा पनि चाहेजति विरामी राख्न नसकेको पोखरेलले गुनासो गर्नुभयो । ‘‘सङ्क्रमणको जोखिमको बेला वार्डहरु साँघुरा भएका छन्, त्यसैले राख्नैपर्ने कतिपय बिरामी फिर्ता गर्नुपरेको छ’’ पोखरेलले भन्नुभयो, ‘‘अक्सिजन बिस्तार गर्न पनि पाइएको छैन ।’’ अक्सिजन प्लान्ट भए पनि सी ब्लक नबनेपछि बिस्तार गर्न नसकेको उहाँले बताउनुयो । सर्भिसिङ नियमित गरेमा एक सयभन्दा बढी शय्यामा नियमित अक्सिजन दिनेगरी प्लान्ट निर्माण भएको हो ।

दरबन्दी रित्तिदै, जनशक्तिको अभाव
चालू आर्थिक वर्षको बजेट ल्याउँदा नेपाल सरकारले धौलागिरि अस्पतालको स्तरोन्नती गरेर दुइसय शय्याको अस्पताल बनाउने घोषणा गरेको एक वर्ष पुग्नै लाग्यो । घोषणा भएको एक वर्ष समय बितिसक्दा न पूर्वाधार थपिएको छ, नत जनशक्ति नै ।

अस्पतालको स्तरोन्नतीका लागि विनियोजन भएको रु एक करोड बजेटबाट शय्याका सामग्री त आए तर मौजुदा जनशक्तिसमेत धमाधम सरुवा भइरहेको छ । अस्पतालको शय्या थप गर्नका लागि भवन छैन । चौध वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पतालको ‘सी ब्लक’ भवन कहिले बन्ने भन्ने टुंगो छैन । दुई सय शय्या क्षमतामा अस्पतालको स्तरवृद्धिका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम भने भइरहेको छ ।

अस्पतालको स्तरोन्नतीको चर्चा चलिरहेकै बेला अस्पतालमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको धमाधम सरुवा भएपछि चार जिल्लाको मुख्य अस्पताल धौलागिरि अस्पताल जनशक्ति बिहीन बन्दै गएको छ । ‘‘एक महिना अघिसम्म केही मेडिकल अधिकृत हुनुहुन्थ्यो, अहिले त दरवन्दी पूरै खाली भयो’’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले भन्नुभयो ‘‘हामीलाई जनशक्तिका कारण धेरै कठिन भइरहेको छ ।’’

विसं २०६६ मा जिल्ला अस्पतालबाट अञ्चल अस्पतालमा स्तरवृद्धि भएको अस्पतालमा अहिले पनि उही बेलाको दरबन्दी छ । पचास शय्या क्षमताका लागि निर्धारण गरिएको ७८ जनाको दरबन्दीमा कठिनले आधा जनशक्ति रहेको अस्पताल प्रशासनले जनाएको छ । सोह्र जना विषेशज्ञ चिकित्सकको दरबन्दीमा एक जनामात्रै स्थायी चिकित्सक छन् । बाँकी १४ जना छात्रावृत्ति करारका विषेशज्ञ चिकित्सकले काम गरिरहेका छन् । छ जना दरबन्दी रहेको मेडिकल अधिकृत सबै खाली भएको छ ।

‘सङ्क्रामक रोग महाशाखाले एक जना स्वास्थ्यकर्मी पठाएको छ, दुई जना करारको हुनुहुन्छ म्याद सकिने बेला भो’’ पोखरेलले भन्नुभयोे ‘‘कैयौैँ पटक हारगुहार गर्दा पनि सरुवा रोकिएन, त्यो स्थानमा अरु पनि पठाइएन ।’’

जनशक्तिको अभावमा अस्पतालको आकस्मिक कक्ष सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो । सघन उपचार कक्ष र आइसोलेशन कक्षका लागि जनशक्ति नै छैनन् । अस्पतालले पाएको दरबन्दीअनुसार दुई जना एचए हुनुपर्ने हो । लामो समयदेखि एचए पद खाली छ । चार जनाको दरबन्दी रहेको अहेव पदमा समेत १ जना छैनन । नर्सिङ अधिकृत, स्टार्फ नर्स र अनमी गरेर २४ जनाको दरबन्दी रहेको अस्पतालमा चार जना स्टाफनर्स अझै आएका छैनन् ।

‘‘मेडिकल अधिकृत खाली भएपछि आकस्मिक कक्षको सिफ्ट नै खाली हुन्छ’’ पोखरेल भन्नुहुन्छ ‘‘यस्तो अवस्थामा कसरी बिरामीको उपचार गर्नु ।’’ अकस्मिक कक्षमा काम गर्नका लागि मेडिकल अधिकृत सहितको पाँच जनाको समूह चाहिन्छ । नेतृत्व गर्ने अधिकारी नै नभएकाले आकस्मिक कक्षामा विरामीको उपचार गर्न समस्या भएको उहाँले बताउनुभयो । आइसोलेशनमा समेत अन्तरंग बिभागमा काम गर्ने चिकित्सकहरुलाई काम लगाइएको छ जनशक्तिको अभावका कारण यसो गरिएको हो ।

गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको सरुवा गरेका हुन् । ‘‘यहाँको अवस्था हेरेर सरुवा गरिँदैन्, सीधै माथिबाट सरुवा गर्ने यहाँ पठाउन चासो नदिने’’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना भन्नुहुन्छ ‘‘न हामीलाई चिकित्सक, स्वास्थ्यकर्मीको नियुक्ति गर्न दिन्छ, नत माथिबाट पठाउँछ ।’’ काम गर्न चाहेर पनि प्रशासनिक हिसावले कामै गर्न नदिएको रानाको आरोप छ ।

कोरोना महामारीको दास्रो चरण चलिरहेकाले अस्पतालको सघन उपचार कक्ष र आइसोलेशनमा विरामी अझै बढ्ने अस्पतालको आँकलन छ तर जनशक्तिकै अभावका कारण दुवै ठाउँमा उपचार गर्न कठिन हुने अस्पताल प्रशासन बताउँछ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास महाशाखाले जनशक्ति नै नभएका कारण अस्पतालमा तत्काल सोधभर्ना गर्न नसकेको जनाएको छ ।

‘‘प्रदेशभरिका जिल्ला अस्पताल पनि चलाउनै प¥यो, स्थानी मेडिकल अधिकृत सबै बागलुङमा रहेकाले जिल्ला अस्पतालहरुमा पठाइएको हो’’ अस्पताल विकास महासशाखाका प्रमुख रामबहादुर केसीले भन्नुहभयो ‘‘स्वास्थ्य सेवा विभागले जेठसम्म नयाँ जनशक्ति पठाउँछु भनेको छ, पहिलो प्राथमिकतामा राखेर धौलागिरिमा पठाउँछौँ ।’’ भएको जनशक्तिको अधिकतम प्रयोग गरेर काम गर्नुपर्ने केसीले बताउनुभयो ।

‘‘गण्डकी प्रदेशमा नै आवश्यकता भन्दा ४५ प्रतिशतले स्वास्थ्यकर्मी तथा चिकित्सक कम छन्’’ उहाँले भन्नुभयो ‘‘हामीले विज्ञापन गरेर माग्दासमेत विज्ञ जनशक्ति आएनन् ।’’ अस्पतालको प्रशासन शाखामा काम गर्ने कर्मचारीको समेत अभाव छ । अधिकृत स्तरका दुई जना कर्मचारीको दरबन्दी लामो समयदेखि खाली रहँदा काममा समस्या भइरहेको पोखरेले बताउनुभयो ।

यहाँका स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा समेत जनशक्तिको अभाव छ । कोभिड अस्थायी अस्पताल सञ्चालन गरिरहेका जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकालगायतका स्थानीय तहमा चिकित्सक नै छैनन् । करारमा रहेका चिकित्सकहरुको समेत म्याद सकिएकाले समस्या भैरहेको जैमिनी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख गोविन्द आचार्यले बताउनुभयो ।

बागलुङ कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेको छ । गाउँदेखि बजारसम्म दैनिक एक सय जनाका हिसावले सङ्क्रमित बढ्दा पनि अभावका बीच यहाँका स्वास्थ्य संस्थाहरुले गम्भीर लक्षण भएका बिरामीको उपचार भने रोकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर