युक्रेनी राष्ट्रपति अमेरिकी सहयोग जुटाउन वासिङ्टन आउँदै — OSNepal

युक्रेनी राष्ट्रपति अमेरिकी सहयोग जुटाउन वासिङ्टन आउँदै

LC (KTM) December 21, 2022 0

वासिङ्टन-युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा आउँदै हुनुहुन्छ । यहाँ रहँदा उहाँले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नुहुनेछ ।गत फेब्रुवरीमा आफ्नो देशमा छिमेकी मुलुक रुसले आक्रमण गरेपछि पहिलोपटक युक्रेनी राष्ट्रपति विदेश भ्रमणमा निस्कदै हुनुहुन्छ । उहाँले अमेरिकी संसद्ललाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । युक्रेनको प्रतिरक्षा क्षमता सुदृढ तुल्याउन तथा आफ्नो देश र अमेरिकाबीचको सहयोगबारे छलफल गर्न आफू अमेरिका भ्रमणमा जान लागेको उहाँले बताउनुभएको छ ।

अत्यन्त संवेदनशील युक्रेनी राष्ट्रपतिको यो भ्रमण रुस–युक्रेनबीच जारी युद्धका बेला भइरहेको छ । युद्धले दुवै देशमा अकल्पनीय विनाश भएको छ भने दुवै पक्षकाा हजारौँ मारिएका तथा घाइते भएका छन् । यो वर्षको खर्चसम्बन्धी प्रस्तावमा अमेरिकी सांसदहरूले मतदान गर्ने समयमा हुन लागेको युक्रेनी राष्ट्रपतिको यो भ्रमणका बेला किएभलाई करिब ४५ अर्ब डलर आपतकालीन सहायता समावेश गरिएको छ । रक्षा मन्त्रालयलेपनि क्षेप्यास्त्र उपलव्ध गराउने तयारी गरिरहेको छ ।

यसैबीच, राष्ट्रपतिको कार्यालयका सञ्चार सचिव करिन जीन–पियरेले युक्रेनी राष्ट्रपतिको स्वागतका लागि राष्ट्रपति बाइडेन तत्पर रहेको र संसद्मा हुने उहाँको सम्बोधनले युक्रेनको लागि अमेरिकाको सुदृढ द्विपक्षीय समर्थनलाई प्रदर्शन गर्ने बताएकी छन् । “यो भ्रमणले युक्रेनलाई आर्थिक, मानवीय र सैन्य सहायताको प्रावधानसहित लामो समयसम्म सहयोग गर्ने संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनेछ,” मङ्गलबार राति उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर