गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने — OSNepal

गण्डकी प्रदेशस्तरीय भलिबल : उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने

LC (KTM) December 24, 2022 0

पोखरा- पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि स्याङ्जा र बागलुङ भिड्ने भएका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ देखि पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनलमा खेलमा बागलुङले कास्की र स्याङ्जाले नवलपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनल खेलमा बागलुङले ३–१ को सेटमा कास्कीलाई पराजित ग¥यो । कास्कीले पहिलो सेट २५-१६ ले जितेर आफ्नो पक्षमा पार्न सफल भए पनि लगातार तीन सेट गुमाउँदै बागलुङसँग पराजित भएको हो । बाग्लुङले दोस्रो सेट २५-२०, तेस्रो सेट २६-२५ र चौथो सेट २५-२० ले जित्दै फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनलको पहिलो सेटको खेल २५-२२ ले जितेको नवलपुरले दोश्रो र तेस्रो सेट २५-२० र २५-२० ले स्याङजालाई सुम्पियो । तर नवलपुर चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-१७ ले आफ्नो पक्षमा पार्दै स्याङ्जालाई दवाबमा राख्ने प्रयास गरेको थियो । तर अन्तिम तथा निर्णायक सेटमा स्याङ्जाले १५-७ ले खेल जित्दै फाइनलमा बागलुङको भेट पक्का बनायो ।

प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल भोलि हुने सङ्घका महासचिव टहलसिंह थापामगरले जानकारी दिनुभयो । उपाधि विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख, तेस्रो हुने टोलीले रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट हुने एक जना खेलाडीले नगद रु २० हजारका साथमा ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट सेटर, उत्कृष्ट लिव्रो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु १०/१० हजार प्रदान गरिनेछ ।

नेपाल भलिबल सङ्घ र कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापन, प्रदेश खेलकुद परिषद गण्डकीको समन्वयमा प्रतियोगिता सञ्चालन भएको । प्रतियोगिताबाट बचत रकमबाट महिला भलिबल खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगितामा मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका नौ जिल्लाको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर