उद्योग सञ्चालनका लागि सहकारीद्वारा आफैँ जडीबुटी खेती — OSNepal

उद्योग सञ्चालनका लागि सहकारीद्वारा आफैँ जडीबुटी खेती

LC (KTM) December 29, 2022 0

झापा-महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ जडीबुटी खेती सुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नं १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो ।सहकारीले विसं २०७७ मङ्सिरदेखि रु एक करोड लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो । पर्याप्त कच्चा पदार्थको अभावमा हप्ता दुई दिनमात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताउनुभयो ।

उहाँका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट रु ७५ लाख अनुदान प्राप्त भएको छ । औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कुल रु ५० लाखमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ ।

उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपत्ता, लेभन ग्रास, सिटोनेला, हर्दी, निम, बकाइनो, मसला, तुलसी बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उहाँले बताउनुभयो । सहकारीका सदस्यले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ । तर उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिक टन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको बताउनुभयो ।

पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आवबाट औषधिजन्य बिरुवा रोपण सुरु गरेको छ । सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर–१, ४, ५ र ६ नं वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ ।

दुई वर्षभित्रमा एक सय बिघा जमिनमा सिटोनेला, लेवन ग्रास र तेजपत्ता लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लवनग्रास प्रजातिका बिरुवा रोपिसकेको उहाँले बताउनुभयो ।

विगतमा छिमेकी जिल्ला इलामबाट तितेपाती र पाँचथरबाट धसिङ्ग्रे खरिद गरेर ल्याउन गरेता पनि ढुवानी खर्च महँगो परेका कारण अहिले ल्याउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग दुई हजार दुई सय सेयर सदस्य छन् । उनीहरुलाई नै जडीबुटीको खेती गर्न लगाउन थालेका छौँ । यसो गर्दा सेयर सदस्यको जीविकोपार्जन गर्नका लागि आम्दानी पनि हुन्छ, उद्योगलाई चाहिने कच्चा पदार्थको समेत अभाव हुँदैन ।”

सहकारीले सदस्यहरूको खेतमा रोपिएको औषधिजन्य वनस्पति प्रतिकिलो रु आठमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भइसकेको उहाँको भनाइ छ । उहाँले किसानले रोपण गरेको औषधिजन्य पदार्थ लगाएको तीन महिनापछि आम्दानी दिने बताउनुभयो । उहाँका अनुसार एक बिघा जमिनमा लगाइएको जडीबुटी खेतीबाट एकपटकमा ४० क्वन्टिल कच्चा पदार्थ उत्पादन हुनेछ । उहाँले कच्चा पदार्थ उत्पादन भएसँगै उद्योगसमेत नियमित सञ्चालनमा आउने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर