जुत्ता उत्पादनमा ४५ प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग — OSNepal

जुत्ता उत्पादनमा ४५ प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग

LC (KTM) January 09, 2023 0

काठमाडौँ, २४ पुस – नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको सङ्गठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ ।जुत्ता उत्पादन, बजारीकरण, प्रवद्र्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउनुहुन्छ ।

कोभिडका कारण गत तीन वर्ष प्रदर्शनी गर्न नपाइएको भन्दै यस वर्ष ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई लक्षित गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । सोह्र करोड जोरसम्म वार्षिकरूपमा उत्पादन गर्ने नेपाली कम्पनीको क्षमता रहेको उल्लेख गर्दै उहाँले रु तीन हजारसम्मका जुत्ता विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।

दस करोड जुत्ता नेपाली बजारको माग रहेको बताउँदै अध्यक्ष घिमिरेले गत वर्ष पाँच करोड ६५ लाख नेपाली जुत्ता बिक्री भएको जानकारी दिनुभयो । गत वर्ष विदेशबाट चार करोड बढी र यो वर्ष दुई करोड जोर जुत्ता चोरी तस्करी र वैधानिक तरिकाले नेपाल भित्रिएको उहाँको भनाइ छ । चोरी तस्करीबाट जुत्ता भित्रिँदा त्यसको असर नेपाली उत्पादनमा पर्ने गर्छ । अहिले नेपाली बजारमा नेपालमै उत्पादन भएका ६५ प्रतिशत जुत्ता प्रयोग भइरहेको छ । “अहिलेसम्म ४० देखि ४५ प्रतिशत नेपाली कच्चापदार्थ नेपाली जुत्ता उत्पादनमा प्रयोग हुने गरेको छ, राज्यले सहयोग गरे ७० देखि ८० प्रतिशत नेपालमा उत्पादन भएका कच्चापदार्थ प्रयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सरकारले उद्योग र वाणिज्यलाई फरक किसिमले हेरिदिनुपर्ने भन्दै घिमिरेले दक्ष तालिमको व्यवस्था गरी चोरी–पैठारी सरकारले नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

विश्वभरको आर्थिक सङ्कटको असर जुत्ता व्यवसायीहरूलाई पनि परेकोे छ । अहिले जुत्ता बनाउन प्रयोग हुने कच्चापदार्थ नेपालमा पनि उत्पादन हुन थालेको पवित्रा सुज इन्डष्ट्रिज प्रालिका सेल्स अफिसर डम्बर श्रेष्ठले बताउनुभयो । जुत्ता तयार गर्न नेपालमा उपलब्ध भएका छाला, रेग्जिन र कपडा प्रयोग हुँदै आएको छ । तर फेन्सी चप्पल र जुत्ताका लागि भने चीन र भारतबाट कच्चापदार्थ ल्याउन पर्दा खर्च दोब्बर लाग्ने गर्छ ।

सोलमा प्रयोग हुने रबर, सिलिकन सोल, रबरको सोल, नरम खालको कपडा जुत्ता चप्पलमा प्रयोग गरिन्छ । उहाँका अनुसार चीनबाट ल्याउने कच्चापदार्थमा धेरै ‘भेरियन्ट’ हुन्छ । जुत्ता चप्पल हेर्दा उस्तै देखिए पनि कच्चापदार्थको गुणस्तरअनुसार मूल्य फरक पर्ने दाबी गर्दै उहाँले सस्तो र राम्रोका लागि चीनका कच्चापदार्थ प्रयोग गरेका सामान बढी बिक्री हुने बताउनुभयो । केही सोल नेपालमै उत्पादन भए पनि चुजी ब्रान्डहरूका लागि भने ग्राहकहरूले बाहिरको उत्पादन खोज्ने गरेका छन् । तर सामान्य उपभोक्ताहरूलाई भने कोरोना महामारीपछि नेपाली ब्रान्ड नै उपयुक्त लाग्न थालेको छ ।

पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्डकै जुत्ता खोज्ने गरेको भन्दै बजारमा उपलब्ध भएका ७० प्रतिशत बढी जुत्ता नेपाली उत्पादनकै बिक्री हुन थालेको उहाँको जिकिर छ । पहिलाको हिसाबले बिक्री बढी भए पनि नाफा भने कम बस्ने व्यवसायीहरूको भनाइ छ । उत्पादन बढी हुँदा बजारमा प्रतिस्पर्धा हुने गर्दा धेरै बिक्री हुँदा पनि मार्जिन कम बस्छ ।

पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्ड खोज्न थालेको मोडर्न सुज प्रालिका सेल्स अफिसर प्रभाषकुमार महतोले बताउनुभयो । नेपाली उत्पादन भएका सामानमा पुनः मर्मत गर्नुपर्ने समस्या निकै कम आउने उहाँको दाबी छ ।

गोल्डस्टार जुत्ताका सेल्स प्रमुख उद्धव सिटौलाले कोरोना महामारीपछि नेपाली ग्राहकहरूले नेपालमै उत्पादन भएको सामानप्रति झुकाव बढाएको जिकिर गर्नुभयो । ग्राहकको झुकाव देखेर आफ्नै देशको उत्पादनमा लाग्न प्रेरणा मिलेको उहाँको भनाइ छ ।

आफ्नो कम्पनीले नेपालमा उत्पादन भएका कच्चापदार्थमा जोड दिने गरेको उल्लेख गर्दै कच्चापदार्थ चीन, भारत र ताइवानबाट ल्याउने सुनाउनुभयो । नेपालको भन्दा गुणस्तरका लागि विदेशी कच्चापदार्थ नै राम्रो मानिन्छ । नेपालमा मुख्य कच्चापदार्थ नपाइने व्यवसायीहरूको गुनासो छ । सिटौलाका अनुसार नेपालमा ४५ प्रतिशत जुत्ता बन्ने भए पनि बाहिरबाट ४५ प्रतिशत जुत्ता आयात हुनेगर्छ । कच्चापदार्थको उत्पादन बढाउन सरकारले रुचि बढाउनुपर्ने भन्दै उहाँले जुत्ता आयातमा सरकारले नीति परिवर्तन गर्नुपर्ने बताउनुभयो । रु एक हजारदेखि १४ हजारसम्मका नेपालमा बनेका गोल्डस्टारका जुत्ता नेपालमा पाइन्छन् ।

रोयल फुटवेयर इन्डस्ट्रिज प्रालिका सेल्स अफिसर सन्तोष पौडेलले जुत्ता बनाउन आवश्यक पर्नेमध्ये फाइबर, पिभिसी सोलहरू नेपालमा उत्पादन हुन थालेको सुनाउनुभयो । जुत्ता बनाउन सोल, केमिकल डेन्ड्राइड, पियु र सोल पेस्टिङ, लाछी, धागो, सियो, कपडा आदि आवश्यक पर्छ । ग्राहकहरूले खोजिरहेको जस्तो डिजाइन बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ । पौडेलका अनुसार पहाडी र शहरी क्षेत्रमा बिक्री गरिने सामानमा फरक कच्चा पदार्थ प्रयोग गरिन्छ । गोल्डस्टारले रु एक हजार देखि ११ हजारसम्मका जुत्ता महिला, बालबालिका, पुरुष सबैका लागि उत्पादन गर्दै आएको छ । विदेशी ब्रान्ड हेर्दा राम्रो भए पनि जुत्ताको गुणस्तर बलियो भने नेपाली उत्पादन नै हुने उहाँको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर