चितवन महोत्सव माघ ४ गतेसम्म चल्ने, के के छन् आकर्षण ? — OSNepal

चितवन महोत्सव माघ ४ गतेसम्म चल्ने, के के छन् आकर्षण ?

LC (KTM) January 09, 2023 0

चितवन – चितवनको गौरव र गरिमामय प्रस्तुतीका रूपमा रहेको चितवन महोत्सव आजदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ को बागमती प्रदेश सरकारका निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले एक समारोहबीच उद्घाटन गर्नुभयो ।कार्यक्रममा भरतपुर पालिका प्रमुख रेनु दाहालले मेला महोत्सवले समग्र जिल्लाको विकासमा सहयोग पु¥याउने बताउनुभयो । यस्ता मेला महोत्सवले आर्थिक गतिविधि चलायमान हुने उहाँको भनाइ थियो ।

उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समयमा नेपालमा देखिएको आर्थिक तरलताले उद्योग, व्यवसाय धराशायी बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको समयमा सरकारले सोच्नुपर्ने हो ।” संसारभर अर्थतन्त्र जटिल बन्दै गएको अवस्थामा सरकार कठोर बन्दै जानुले व्यवसायी समस्यामा परेको उहाँको भनाइ थियो । राज्यको नीतिगत स्थिरता नहुँदा लगानीको वातावरण बन्न नसकेको उहाँले बताउनुभयो ।

आजदेखि सुरु भएर महोत्सव माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिनुभयो । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहेको श्रेष्ठले बताउनुभयो । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारीसहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरूको प्रवर्द्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । दस दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कलासंस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।

त्यसैगरी महोत्सवअन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ । चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रियस्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनुभयो । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर