भारतबाट फर्केर शैलुन व्यवसाय गरेका कुँवर दम्पतीले गर्छन मनग्य आम्दानी — OSNepal

भारतबाट फर्केर शैलुन व्यवसाय गरेका कुँवर दम्पतीले गर्छन मनग्य आम्दानी

LC (KTM) January 21, 2023 0

रेसुङ्गा- गुल्मीको रेसुङ्गा नगरपालिका–२ का कुँवर दम्पतीले शैलुन व्यवसायबाटै मनग्ये आम्दानी गर्दै आउनुभएको छ । इन्द्रबहादुर र मोनिका कुँवरले जिल्लाको सदरमुकाम तम्घासको क्याम्पसरोडमा एउटै छानामुनी मोनिका हेयर कटिङ एण्ड जेन्स पार्लर र मोनिका ब्युटिपार्लर सञ्चालन गर्नुभएको छ । आजभन्दा आठ वर्ष अगाडिबाट औपचारिकरुपमा दर्ता गरेर कुँवर दम्पतीले आ–आफ्नो सीप र दक्षता अनुसारको शैलुन व्यवसाय सुरु गर्नुभएको हो ।

भारतमा कमाएर ल्याएको रु ३५ हजार लगानीमा व्यवासय सुरु गरेको इन्द्रबहादुरले बताउनुभयो । रोजगारीको सिलसिलामा भारत जानुभएका कुँवर लामो समयसम्म भारतमै काम गर्नुभयो । जागिर गरेर मात्र सन्तुष्ट नभएपछि कुँवरले भारतमै शैलुनसम्बन्धीका विभिन्न तालिम लिनुभयो । त्यसपछि आफूले कमाएको थोरै रकमले भए पनि आफँै व्यवसाय सुरु गर्ने भन्दै जन्मथलोमा फर्कनुभयो । यसमा इन्द्रबहादुर मात्र होइन श्रीमती मोनिका पनि निरन्तरको सारथी बन्नुभयो । दुवैको सहमतिमा शैलुन व्यवसाय खोल्नुभयो ।

उमरेले ४७ वर्ष पुग्नुभएका इन्द्रबहादुर आफूले सञ्चालन गरेको शैलुन व्यवसायबाट निकै सन्तुष्ट हुनुहुन्छ । सुरुमा सानोबाट लगानी गरेर अहिले उहाँले व्यवसायलाई बढाउँदै लैजानुका साथै आम्दानीलाई विभिन्न ठाउँमा लगानी गर्नुभएको छ । आर्थिक अभावका कारण अध्ययनमा केही समस्या भएका कारण भारत छिर्नुभएका इन्द्रबहादुरले अहिले आफ्नो सीपका कारण कुनै पछुतो मान्नुपरेको छैन् । “पढाइ, पैसा र कुनै सीप नहुँदा मलाई धेरै चिन्ता लाग्ने गर्दथ्यो” कपाल काट्दै इन्द्रबहादुरले भन्नुभयो, “भारतमा सिकेको सीपले आत्मनिर्भर मात्र नभई स्वाभिमानी समेत बनायो ।” उहाँले कुनै न कुनै सीप हरेक व्यक्तिमा हुनुपर्ने र जसका कारण सजिलै आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

आफूलाई सानैदेखि गाउँमा कपाल काट्नेमा निकै रुचि लाग्ने गरेको उहाँ सम्झनुहुन्छ । आफ्नो रुचिलाई सीपमा बदल्दै आत्मनिर्भर गरेर मनग्ये आम्दानी गरिरहनुभएका इन्द्रबहादुर रोजगारभन्दा व्यवसायले सन्तुष्ट मिल्ने गरेको बताउनुहुन्छ । सामान्य जीविकोपार्जनको लागि पनि परिवारबाट टाढा गएर काम गर्नुपर्ने बाध्यता भएको समयमा आफूले सिकेको सीपका कारण जन्मथलोमै बसेर आम्दानी गरिरहेको उहाँले सुनाउनुभयो ।

इन्द्रसँगै श्रीमती मोनिकाले सोही ठाउँमै मोनिका ब्युटिपार्लर चलाउनुभएको छ । दुवैतर्फ सबै चाँजोपाँजो मिलाउने मोनिका पनि सीपले भरिपुर्ण हुनुहुन्छ । दुवै जनाको मेहनत र निरन्तर कर्मका कारण अहिलेसँगै बसेर व्यवसाय सञ्चालन गरी मनग्ये आम्दानी गर्दा मोनिका पनि सन्तुष्ट हुनुहुन्छ । महिलाले नेतृत्व गरेर आफैँ खटिएर व्यवसाय सञ्चालन गर्दा सफल हुने भन्दै उहाँले महिला र पुरुष बराबर भएकोले दुवैले बराबर मेहनत गर्नुपर्ने बताउनुभयो ।

रु ३५ हजारबाट सुरु गरेको शैलुन व्यवसाय अहिले ३५ लाखभन्दा माथि पुगेको सञ्चालक इन्द्रबहादुरले बताउनुभयो । पुरुष र महिला पार्लर दुवैमा गरेर मासिक रु एक लाख २० हजार बचत हुने गरेको उहाँहरुको भनाइ छ । “दुवैतर्फ गरेर औसतमा ६०÷६० हजार बचत गर्न सकिएको छ”, उहाँ भन्नुहुन्छ, “आत्मसन्तुष्टिको कुरामा केही कमी छैन, सीपले अवसर पाएको ठानेको छु ।” सो शैलुनमा सेवा लिने जो कोही पनि सन्तुष्ट भएर फर्किने गरेका छन् ।

कुँवर दम्पतीले शैलुन व्यवसायबाट पाँच जनालाई रोजगारी दिनुभएको छ । इन्द्रबहादुर स्थानीय पालिकाले दिने शैलुनका तालिममा पनि मुख्य प्रशिक्षक भएर पुग्नुभएको छ । अहिलेसम्म एक सय ५० जनालाई सीप सिकाएको उहाँले बताउनुभयो । इन्द्र बहादुर कुँवर नेपाल नाई संघ गुल्मीका उपाध्यक्ष समेत हुनुहुन्छ । शैलुन व्यवसाय गर्नेहरु संस्थागत रुपमा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा पनि उहाँको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर