जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक काम गरौँ : धनराज गुरुङ — OSNepal

जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक काम गरौँ : धनराज गुरुङ

LC (KTM) February 05, 2023 0

काठमाडौँ-नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बताउनुभयो ।

“नेताहरु गफ मात्र गरिरहन्छौँ, काम गर्दैनौँ, धेरै वाचा गर्छौं तर त्यसलाई प्रमाणित गरेर देखाउन सक्दैनौँ । देश उधोगतिमा अग्रसर छ”, उहाँले भन्नुभयो, “देश बनाउन कर्मशील र इमान्दार नेताको आवश्क छ । दृष्टिकोणसहितको नेताको अभावले जनताले दुःख पाइरहेका छन् ।”

पछिल्लो समय आर्थिक सङ्कट बढ्दै जाँदा व्यवसायी र नागरिक अप्ठ्यारो अवस्थामा पुगेको भन्दै उहाँले आर्थिक सङ्कटका कारण व्यवसायीमा कोकोहोलो मच्चिरहेको बताउनुभयो । “तर सरकारमा बस्नेले कुनै चासो नदिएको देखिएको छ । घोचपेच, दाउपेच, होच्याउने कुरा मात्रै सुन्छौँ । गफले देश बन्दैन”, उहाँले भन्नुभयो ।

छोटो समयमा मलेसिया, दक्षिण कोरियालगायत मुलुकले ठूलो प्रगति गरिरहेका दृष्टान्त पेस गर्दै सांसद गुरुङले गफ गर्नेभन्दा पनि काम गरेर देखाउनुपर्ने बेला आइसकेको बताउनुभयो । अहिले देखिएको आर्थिक सङ्कट सबैको साझा समस्या रहेको जनाउँदै उहाँले अर्थतन्त्रमा परेको सङ्कट समाधान गर्न सरकारलाई विश्वासको मत दिइएको प्रष्ट्याउनुभयो ।

“राजस्वले चालु खर्च धान्न सकेको छैन । विदेशी मुद्रा सञ्चिती घटिरहेको छ । हामीले सरकारलाई दह्रोसँग खुट्टा टेक्न आग्रह ग¥यौँ”, उहाँले भन्नुभयो, “आर्थिक सङ्कट टार्न सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ भनेर हामीले प्रतिपक्षमा रहेर पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएका हौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर