प्रेम दिवसको अवसरमा सौराहामा फुड फेस्टिबल सुरु — OSNepal

प्रेम दिवसको अवसरमा सौराहामा फुड फेस्टिबल सुरु

LC (KTM) February 12, 2023 0

चितवन- प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिबल सुरु भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिबलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गर्नुभयो ।सो अवसरमा उहाँले पछिल्लो समय कोभिडका कारण थलापरेको पर्यटन व्यवसाय उकास्न यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । प्रदेश सरकारले यहाँको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि काम गरेको विगतलाई स्मरण गर्नुभयो । उहाँले सौराहाको दायरा फराकिलो बनाएर फरक ढङ्गले प्रचारात्मकरूपमा लाग्नुपर्ने बताउनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सौराहाको विकास यथास्थितिमा हुँदा स्थानीय सरकार र व्यवसायीको सहकार्यमा विकासको काम अघि बढाउन आवश्यक रहेको बताउनुभयो । रेवानका केन्द्रीय अध्यक्ष अरनीको राजभण्डारी, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई, रेवान महिला समूहकी अध्यक्ष रश्मी बिडारी र रत्ननगर नगरपालिका–६ का अध्यक्ष किरण महतोले फुड फेस्टिबलको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो । यसअघि सौराहामा विभिन्न जातजातिको वेशभूषासहितको शोभायात्रा गरिएको थियो ।

प्रेम दिवस मनाउन आउनेको स्वागतका लागि व्यवसायीले सौराहालाई सिँगारेका छन् । फेस्टिबलका संयोजक ध्रुव गिरीले फुड फेस्टिबल व्यवस्थित गरिएको भन्दै यहाँ आउने पर्यटकका लागि फरक फरक स्वादका खानाको व्यवस्था गरिएको बताउनुभयो । सौराहाका मुख्य बजार क्षेत्रलाई पनि सिँगारिएको छ ।

रेवानका अध्यक्ष नरेश गिरीले मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीले पर्यटन विकासका लागि फेस्टिबल आयोजना गरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “फेस्टिबलमार्फत पर्यटक भित्र्याउने अर्को उद्देश्यले सुरु भएको फुड फेस्टिबल पछिल्लो समय प्रणय दिवस मनाउने जोडीका लागि अवसर बनेको छ ।” भ्यालेनटाइन डे मा परिवार तथा प्रेमिकासँग रमाउनेका लागि व्यवसायीले सौराहालाई उत्कृष्ट थलोका रूपमा चिनाएका छन् । सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको आयोजकले जनाएको छ ।

‘सडकमै खाऔँ सडकमै रमाऔँ’ भन्ने नाराका साथ हात्ती चोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैँडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई बिक्रीका लागि राखेका छन् ।

संयोजक गिरीका अनुसार फेस्टिबलमा हरेक दिन हुने सडक फुड फेस्टिबलमा विभिन्न जातजातिको झाँकीको प्रस्तुति रहने छ । तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातिको झाँकी प्रस्तुत हुनेछ ।

नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिबलमा दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ । करिब रु ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको गिरीले जानकारी दिनुभयो । कोभिडपछि यहाँको व्यवसाय उठ्न सकेको छैन । स्वदेशी र विदेशी पर्यटकको जङ्गल सफारीका लागि सौराहा पहिलो गन्तव्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर