जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा — OSNepal

जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा

LC (KTM) February 13, 2023 0

नेपाली इतिहासमा दशवर्र्षे वर्ग द्वन्द्व एउटा उल्लेखनीय परिवर्तनको मोड साबित भएको छ । वसन्त गर्जनसहित फागुन १ बाट सुरु भएको महान् जनयुद्ध त्याग बलिदान वीरता र साहसको मानक कीर्तिमान पनि साबित भयो । यसलाई एउटा युगान्तकारी परिघटनाका रुपमा पनि हेनुपर्छ । आज हामी २८ औँ जनयुद्ध दिवसको अवसरमा आइपुगेका छौंँ । त्याग, बलिदान, समर्पणको त्यो महायज्ञमा दशौंं हजार नेपाल आमाका होनहार, प्रातिभा, वीर सन्ततिहरूले आफ्नो अमूल्य जीवनको प्राणाहूति दिएका थिए । हजारौं बेपत्ता योद्धाहरूले आफ्नो त्यो उदात्त उत्सर्गशील चेतनाले मुक्ति र स्वतन्त्रताको सपना बाँडेका थिए ।

शोषणबाट मुक्ति, विभेद र अन्यायबाट मुक्ति, उत्पीडन र तिरष्कारबाट मुक्ति, गरिबी र अभावबाट मुक्ति, विकास र प्रगति विरोधी विसङ्गति र दूर्गतिबाट मुक्ति, दीनता र दासताबाट मुक्ति, औपनिवेशिक हस्तक्षेपबाट मुक्तिको सौन्दर्य नै जनयुद्धको सौन्दर्य पनि थियो । यही सौन्दर्यका लागि हजारौँ सहिदहरूले क्रान्ति यज्ञमा आफ्नो जीवन नै आहूति गरिदिए । त्यो उत्सर्ग अप्रतिम र अपूर्व पनि थियो । ती महान् सहिदहरू परिवर्तनका बिम्ब पनि हुन् । जनयुद्धको पहल भएको आज २८ औँ वसन्त पूरा भएको छ । नेपाली वर्गीय चेतनाको त्यो उच्च उदात्त भावधाराले अकिञ्चन वर्गलाई धेरै ब्युँझाएको छ । जनयुद्ध राजनैतिक चेतना र क्रान्तिकारी भाव विस्तारको उज्यालो आयाम पनि हो । यसले महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु सबै उत्पिडीत समुदायलाई आआफ्नो पहिचान, मुक्ति, अधिकार प्राप्ति, सम्मान र स्वाभिमानको स्थापनाका निम्ति सङ्कल्पित हुन दिशाबोध गराएको छ ।

नेपाल सरकारले यस वर्षदेखि जनयुद्ध दिवसमा बिदा दिने परम्पराको सुरुआत गरेको छ । परिवर्तन र बलिदानको सम्मान त हो नै, साथै इतिहासको सही मूल्याङ्कनको सुरुआत पनि हो । त्याग र बलिदानलाई राज्यले सम्मानित नगर्ने हो भने देशको निम्ति कोही पनि मर्न तयार हुने छैन । सायद यही दूरगामी प्रभावलाई दृष्टि गरेर नै बिदा दिइएको होला । बलिदानको अपमान गर्ने, होच्याउने, अपभ्रंशित गर्ने, विद्रूपीकरण र भ्रष्टीकरण गर्ने र अझ नपुगेर अपराधीकरणसमेत गर्ने खलनायकीय भूमिकाहरू इतिहासदेखि हुँदै आएका छन् । यसको एउटा र मुख्य उदाहरण हो, देशभक्त र राष्ट्रपे्रमी प्रधानमन्त्री भीमसेन थापाको दुःखान्त र दर्दनाक हत्या वा मृत्यु । अपमान सहन नसकेर नै एउटा महान् देशभक्तले आत्महत्या गर्न विवश भएका थिए ।

नेपाललाई सतीले सरापेको देशको कालो धब्बा पनि यही घटनाले लगाएको हो । त्यही घटनाको पुनरावृत्ति गर्ने प्रयास आज जनयुद्ध विरुद्ध पनि हुन थालेको छ । देशका लागि मर्ने, जीवन त्याग गर्ने, हाँसीहाँसी मृत्युवरण गर्ने, परिवर्तन र क्रान्तिका लागि जीवनको कुर्बानी गर्ने महान् अमर सहिदमाथि हिलो छ्याप्ने कोशिस प्रतिगामी, सामन्ती, कट्टर जडता बोकेका, गतिशीलता विरोधी, मध्ययुगीन दासत्व कायम राख्न चाहने वर्गबाट हुँदै आइरहेको छ । दुई÷चार सपूत हैन, हजारौँ सपूत मरेर नगए देश नबन्ने रहेछ भन्ने जनयुद्धले साबित गरेको छ । विना रक्तपात संसारमा कहीं पनि सत्तामा परिवर्तन नहुने रहेछ भन्ने कुरा त फ्रान्सेली राज्यक्रान्ति, रुसी, चिनियाँ, क्युवाली, भियतनामी, कोरियाली, कम्बोडियाली, इरानी क्रान्तिहरूले पुष्टि गरिसकेका छन् ।

भारतको स्वतन्त्रतामा पनि सुभाषचन्द्र बोस, भगतसिंह, जलियाँवाला वागजस्ता अनेकौँ बलिदान त भएकै छन् । नेपालमा पनि हजारौँको बलिदान भयो तर ती देशहरूमा त करोडौँ जनताले बलिदान दिएका छन् देशका लागि । बलिदान हत्या होइन, नादानहरूले मात्र बलिदानलाई हत्या देख्छन् । फेरि बलिदान कहिल्यै निरर्थक हुन्न । बलिदान न मृत्यु हो, न हत्या नै । त्यो त अप्रतिम उत्सर्ग हो ।
जनयुद्ध समग्र युद्ध थियो । सौर्य, साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक अभियानले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक तथा देशप्रेम एवम् राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको थियो । वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका हरेक सामन्ती साङ्गलाहरू तोडेर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गरेको थियो । यसको परिणाम आज दूर्गम, सुदूरवर्ती, अनकण्टार गाउँमा पनि उज्यालो राजनैतिक चेतना, विचारको जागरण पैदा भएको छ ।

आज पिछडिएका, उपेक्षित, विकासबाट वञ्चित गाउँहरू पनि अभूतपूर्व रुपमा ब्युँझेका छन् । ग्रामीण र देहाती जनतामा समेत राजनीति पुगेको छ र आफ्नो हक, अधिकारका लागि, शोषणबाट मुक्तिका लागि माओवादी आन्दोलनको मूल्य र त्यसले दिएको ज्ञानको प्रकाश सञ्चार हुन पुगेको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, थारु समुदायहरुमा जुन सचेतना, जागरण र आफ्नो पहिचानप्रतिको जागरुकता आएको छ । त्यो परिवर्तन जनयुद्धकै देन हो भन्नेमा दुईमत नहोला ।
दुई सय पचास वर्षको सामन्तवादी राज्यसत्ताको प्रतिनिधि रुप राजतन्त्रको अवसान र गणतन्त्रको स्थापना, एकात्मक र केन्द्रीकृत राज्यको पुनर्संरचनाद्वारा सङ्घीयताको निर्माण र समानुपातिक, समावेशीताको विधिको स्थापना, आरक्षणका माध्यमबाट महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिमका स्थानीय निकायदेखि राज्यको माथिल्लो तहसम्म अनिवार्य प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता महत्वपूर्ण उपलब्धि हुन् । जकडिएर रहेको जडवत् रुढिवादी अन्धविश्वास, धार्मिक अतिवादी चिन्तन, धर्मशासित राज्य संयन्त्रलाई पनि धर्मनिरपेक्षताको प्रावधानले केही उदार बनाउन बाध्य पारेको छ ।

केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थामा पहुँच हुनेलाई मात्र विनियोजन हुँदै आएको, अभिजात्य वर्ग र सम्भ्रान्तहरूले मात्र एकलौटी विलासितामा उपभोग गर्दै आएको राज्यको ढुकुटी अब सङ्घीयताले गर्दा विकेन्द्रित रुपमा विनियोजन हुन थालेको छ । राज्यको बजेट, राज्यको कोष समानुपातिक रुपमा तल तलसम्म पुग्न, वितरण हुन थालेको छ । स्थानीय निकायमा जनताले नै योजना बुन्न थालेका छन् र गाउँगाउँसम्म जनता आफ्नो अनुकूलतामा बजेट बनाउन थालेका छन् । यसले समानुपातिक रुपमा देशका सबै क्षेत्रलाई समेट्न थालेको छ । गाउँमै प्रशासनिक निकायहरू पुगेका र विकासका आधार र अवसरहरू पनि प्राप्त हुन थालेका छन् ।

स्वास्थ्य, शिक्षा, खाद्य सम्प्रभूताजस्ता संविधानमा उल्लेखित नैसर्गिक अधिकारका नीति र व्यवस्था पूर्णरुपमा लागू गर्न तथा जनतालाई लोकतन्त्र, गणतन्त्र र समाजवादी अर्थव्यवस्थासहितको रुपान्तरणको प्रत्याभूति दिलाउन, परिवर्तनको नयाँ संस्कृतिको उपभोग गराउन अब जनयुद्धको सौन्दर्य प्रयोगको अपेक्षा र आकांक्षा जनताले गरिरहेका छन् । व्यवस्था त बदलियो तर जनताको अवस्था बदल्न आर्थिक दलालीकरणको नीतिमा परिवर्तन जरुरी छ । राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ ।

राष्ट्रिय पुँजीको विकास र दलाल पुँजीको विस्थापन हुनैपर्छ । यो व्यवस्था बदल्ने माओवादीहरूले नै अब जनताको अवस्था बदल्ने जिम्मेवारी पूरा गर्नुछ । जनयुद्धको सौन्दर्य भनेकै सहिद तथा बेपत्ता योद्धाका सपना, घाइते अपाङ्ग योद्धाका आकांक्षा, आम नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने हो, जुन काम अझै पूरा हुन बाँकी नै छ । जुन जनयुद्धका अभियन्ता माओवादीहरूले पूरा गर्ने उद्यत र उद्यम गर्नु आवश्यक छ । हाम्रो नीतिलाई अरुले पूरा गर्दैनन् पनि । आफूले जन्माएको बालक आफैँले हुर्काउनु प्राकृतिक नियम नै हो । त्यसका लागि नै तल्लो वर्गका समस्या, आवश्यकता र आकांक्षालाई हामीले आत्मसात् गर्नै पर्छ ।

गरीब, किसान, ज्यामी, खेताला, मजदूरका आवाज माओवादीले नसुने अरु कसले पो सुन्ला र ? जनयुद्धको मूल उद्देश्य पनि त्यसैमा अन्तर्निहित छ । जनयुद्धको आधारमा टेकेर उठेको जनआन्दोलनको संयुक्त पहलबाट जनताले आफ्नै हातले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ सम्बिधान बनाएका छन् । यो एउटा युगान्तकारी घटना हो । यसको रक्षा र प्रयोग गर्दै सीमित नै सही प्राप्त उपलब्धिलाई मास्न नदिई अगाडिको समाजवादको सङ्कल्प पनि पूरा गर्नु पर्नेछ ।
मुलुकमा समृद्धि र विकास, प्रगति र समुन्नति, खुसी र सुखी समाज स्थापना गर्न अझै पनि शान्तिपूर्ण सङ्घर्षको आवश्यकता भने सँधै रहिरहन्छ र त्यसको लागि सांस्कृतिक रुपान्तरण पनि जरुरत छ भन्ने यथार्थलाई पनि हामीले बिर्सिनु हुँदैन । जनयुद्ध दिवसले यही प्रेरणा हामीलाई दिइरहेको छ । फागुन १ वसन्त ऋतु आगमनको आरम्भ हो । एक दिन मुलुकमा पनि मुक्ति, स्वतन्त्रता र स्वाभिमानको त्यो वसन्त जरुर आउने छ । अनि जनयुद्धका उद्देश्य पूरा हुनेछन् । जनयुद्ध दिवसले सबैमा यही आशावादी सन्देश र जीवनवादी जागृति दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर