उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग सङ्घ — OSNepal

उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग सङ्घ

LC (KTM) May 08, 2021 0

चितवन- उद्योग सङ्घ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर सङ्घमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड सङ्क्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि सङ्घले जम्मा गर्न थालेको हो ।

सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीबारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर सङ्घमा पठाइदिन अनुरोध गरिएको हो । उहाँले भन्नुभयो, “धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । सबैसँग हामीले सहयोगका लागि अनुरोध गरेका छौँ ।जिल्लाका ४० भन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उहाँको भनाइ छ । ती उद्योगबाट ५० भन्दा बढी सिलिण्डर सङ्कलन हुने अपेक्षा गरिएको छ ।

सङ्घका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर सङ्कलन गर्न लागिएको बताउनुभयो । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उहाँका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ ।

अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “हामी यो मानवीय कार्यमा सक्दो सहयोग गर्छौँ” कोरोनाको पहिलो लहरमा सङ्घले अस्थायी अस्पताल स्थापनाका लागि प्रदर्शनी हल उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर