वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई — OSNepal

वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेर्पालाई

LC (KTM) February 26, 2023 0

खोटाङ-सोल्मा स्पोर्टस् क्लब सोल्माले आयोजना गरेको ‘जिल्लाव्यापी वडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले चुमेको छ । सोल्मास्थित आयोजक सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा सोही नगरपालिकाको वडा नं ११ खार्मीलाई ट्राइब्रेकरमा हराउँदै नेर्पाले उपाधि चुमेको हो ।

निकै रोचक भएको खेलको निर्धारित समयमा दुवै टिमको तर्फबाट गोल नभएपछि ‘ट्राइब्रेकर’मार्फत प्रतियोगिताको उपाधि छिनोफानो गरिएको आयोजकले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहका १८ वडाका खेलाडी सहभागी प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाले सेमिफाइनलिस्टमा चित्त बुझाएका छन् ।

प्रतियोगिताका विजयी टिम र खेलाडीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईलगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र सेमिफाइनलमा पुग्ने दुईवटा टिमलाई क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ६६ हजार छ सय ६६ र रु ३३ हजार तीन सय ३३ नगदका साथमा ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको अनुशासित टिममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा तथा बेष्ट प्लेयरमा नेर्पाका सुरज राई घोषित भएका छन् । अनुशासित टिम र बेष्ट प्लेयरलाई क्रमशः नगद रु पाँच हजार पाँच सय ५५ प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधिभरका बेष्ट किपरमा खार्मीका निशान विश्वकर्मा, बेष्ट डिफेण्डरमा खार्मीकै ध्रुव विश्वकर्मा, बेष्ट मिड फिल्डरमा नेर्पाका पारश कार्की, हाइस्कोररमा नेर्पाकै विदेश राई, बेष्ट कोचमा नेर्पाका वीरेन गुरुङ र योङगेष्ट प्लेयरमा नेर्पाकै प्रज्वल गुरुङ घोषित भएका छन् । बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाइस्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही नगद रु तीन हजार तीन सय ३३ प्रदान गरिएको क्लबका सहसचिव अमर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिता समापनको अवसरमा युट्युबर एवं पत्रकार मनोज आचार्यलाई नगद रु पाँच हजार पाँच सय ५५ राशिको ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’समेत प्रदान गरिएको आयोजकले जनाएको छ । युट्युबर एवं पत्रकार आचार्यले तेस्रो संस्करणको प्रतियोगिता सफल पार्न उल्लेख्य भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा नियमित क्रियाकलाप गर्दै आएको सोल्मा स्पोर्टस् क्लबले दोस्रो संस्करण विसं २०७५ वैशाखमा सञ्चालन गरेको थियो । दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलले उचालेको थियो ।

प्रतियोगिताको औपचारिक उद्घाटन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राईले यही फागनु ६ गते सोल्मा स्पोर्टस् क्लबको लोगोसहितको बेलुन उडाएर गर्नुभएको थियो । सोल्माका स्थानीय समाजसेवी एवं सिङ्गापुर प्रहरीका पूर्वप्रहरी निरीक्षक रुद्र राईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

सोल्मा स्पोर्टस् क्लबले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा चन्दा सङ्कलन गरेर जिल्लामै पहिलोपटक आफ्नै खेलमैदान निर्माण गरेको छ । सोल्मा स्पार्टस् क्लबको खेलमैदान मध्यपहाडी लोकमार्गभन्दा करिब तीन किलोमिटर टाढा रहेको छ । प्रतियोगिता समापन कार्यक्रममा सितोरियो करातेका राष्ट्रिय खेलाडी विद्याकला राईलाई उहाँका ‘मावली विक्रम परिवार’ले नगद रु एक लाखसहित सम्मान गरेको छ । खेलकुदको माध्यमबाट आफ्नो जिल्ला तथा परिवारलाई विश्वमा परिचित गराएको भन्दै मावली परिवारले सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–७९ मा विद्याकलाले ५५ केजी तौल समूहमा रजत पदक हासिल गर्नुभएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भएकी विद्याकलाले जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा दर्जनौँ पदक प्राप्त गर्नुभएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर