म्याग्दीको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले गरे दुई लाख सहयोग — OSNepal

म्याग्दीको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले गरे दुई लाख सहयोग

LC (KTM) March 05, 2023 0

म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना काभ्रेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दुई पूर्वशिक्षकले रु दुई लाख बढी आर्थिक सहयोग गर्नुभएको छ ।अन्नपूर्ण –३ दानाका गङ्गाबहादुर पुर्जा र उहाँकी श्रीमती योमाया पुर्जाले रु एक लाख ५१ हजार एक सय पाँच सहयोग गर्नुभएको हो । यसअघि रु एक लाख सहयोग गर्नुभएका हाल बेलायतमा बसोबास गर्नुहुने गङ्गाबहादुरका भाई कमलबहादुर पुर्जा र उहाँकी श्रीमती शान्ति पुर्जाले थप रु ५० हजार उपलब्ध गराउनुभएको छ ।

बिदा मनाउने क्रममा नेपाल आउनुभएका पुर्जा परिवारले काभ्रेमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकलाई नगद हस्तान्तरण गर्नुभएको थियो । पुर्जा दाजुभाईले बेलायती सेनामा भर्ती हुनुअघि मुस्ताङको सिमानामा रहेको सो विद्यालयमा अध्यापन गराउनुभएको थियो । पचास विद्यार्थी अध्ययनरत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि सहयोग रकम परिचालन गरिने विद्यालयले जनाएको छ ।

शारीरिक रुपमा अपाङ्गता भएका पुर्जाले यसअघि पनि बेलायत सरकारले पेन्सन वापत दिने तलब वापतको रकम जिल्लाका विभिन्न विद्यालयलाई उपलब्ध गराउनु भएको छ । सन् १९८९ मा गोर्खा सैनिकमा भर्ति भएका पुर्जा सन् २००६ मा सेवा निवृत्त हुनुभएको थियो । सैनिक सेवामा प्रवेश गरेको तीन वर्षमै ढाडमा समस्या देखिएपछि उनी अहिलेपनि वैशाखीको साहराले हिँड्डुल गर्नुहुन्छ ।

उहाँले प्रवासी नेपालीलाई सहयोग गर्ने उद्देश्यले मद्दत समूह नामक संस्था पनि स्थापना गर्नुभएको छ । शारीरिक रुपमा अशक्त भए पनि पुर्जाले दुःखमा परेका नेपालीलाई बेलायतमा सहयोग जुटाउन सक्रिय भूमिका निभाउँदै आउनुभएको छ । सो समूहलाई बेलायत सरकारले ‘क्वीन अवार्ड’ समेत प्रदान गरेको जनाइएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर