इतिहास शिरोमणि आचार्यको १३६ औं जन्मजयन्ती मनाइयो — OSNepal

इतिहास शिरोमणि आचार्यको १३६ औं जन्मजयन्ती मनाइयो

LC (KTM) March 14, 2023 0

काठमाडौं । इतिहासशिरोमणि बाबुराम आचार्यको १३६ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ। इतिहासशिरोमणि आचार्यको जन्मजयन्तीको अवसर पारेर सोमबार ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक’ प्रवचन कार्यक्रम सम्पन्न भएको छ । इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रममा बिद्वानहरुबीच छलफल भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा, पूर्वउपकुलपति डा. जगमान गुरुङ, सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसाल, उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), पूर्वप्राज्ञपरिषद् सदस्य प्रा. दिनेशराज पन्त, प्रा.डा. त्रिरत्न मानन्धर, पूर्वराजदूत राजेश्वर आचार्य र प्रा.डा. सुरेन्द्र केसीले ‘बाबुराम आचार्य र नेपालको इतिहास विषयक’ मा आपनो बिचार राख्नु भएको थियो।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरु डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली , प्रा.डा. निरन्जन बस्नेत, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मा आचार्य, बरिस्ठ पत्रकार डिल्ली रमण सुवेदी र प्रतिष्ठानका पदाधिकारीहरु, सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य राख्नु हुदै डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानसँग सहकार्य गरेर इतिहासशिरोमणि आचार्यको जन्मजयन्ती मनाउन पाएकोमा खुसी ब्यक्त गर्दै नेपाली साहित्य र समालोचनाको क्षेत्रमा पनि आचार्यको ठूलो योगदान रहेको स्मरण गराउदै इतिहासशिरोमणिको सम्झनामा यसरी अन्तरक्रिया गर्नु आफैंमा महत्त्वपूर्ण रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्वउपकुलपति डा. जगमान गुरुङले बाबुराम आचार्यले झ्यामोलुङ्मालाई सगरमाथा नामाकरण गरेकोले नै उहाँ महान हुनुभएको उल्लेख गर्नुहुदै लामाहरुले झ्यामोलुङ्मालाई बसिरहेकी चरी, लिम्बुले चोमो लुङ्मा चोमो अग्लो, लुङ ढुङ्गा अग्लो ढुङ्गा नाम रहेको उल्लेख गर्नुभयो । संस्कृत र नेपालीमा त्यसको नाम नभएकोले बाबुरामले सगरमाथा वा झ्यामोलुङ्मा लेख लेखेर राष्ट्रको आवश्यकताको परिपूर्ति गर्नु भएको उल्लेख गर्नु भयो ।डा. गुरुङले इतिहासको ऐतिहासिक विश्लेषण हुनुपर्ने अनि मात्रै इतिहास अध्ययन गर्ने विद्यार्थीहरुको संख्या बढ्ने उहाँले बताउनु भयो ।

प्रा.डा. त्रिरत्न मानन्धरले बाबुराम आचार्यले नेपालको लागि दिएको योगदान अतुलनीय रहेको बताउदै एसियाली अनुसन्धान केन्द्रबाट प्रकाशित बाबुराम आचार्य र उहाँका कृति पुस्तकमा केही पत्रहरु प्रकाशित भएकोले त्यसबाट पनि अझै उहाँका कति कृति प्रकाशन गर्न बाँकी छन् भन्ने थाहा हुने बताउनु भयो । बाबुराम आचार्यले लेखेका अप्रकाशित सामग्रीहरु धेरै रहेको उल्लेख गर्दै प्रा.डा. मानन्धरले ती लेखहरुलाई संकलन गरी प्रकाशन गर्ने जिम्मेवारी प्रज्ञा–प्रतिष्ठानले लिनुपर्नेमा जोड दिनु भयो ।

अर्का बक्ता पूर्वराजदूत राजेश्वर आचार्यले इतिहासको बारेमा सत्यतथ्य ज्ञान इतिहासको विषय पढ्नेसँग मात्रै सम्बन्ध नरहेको बताउदै मान्छेलाई इतिहास, भूगोल, धर्म, संस्कृतिको ज्ञान चाहिने बताउनु भयो बाबुरामले सगरमाथाको नामाकरण नगर्नुभएको भए विदेशमा गएर नेपाली नाम बताउनै नसक्ने अवस्था आउने बथाउदै विदेशमा रहँदा विदेशीले चिन्ने सगरमाथा, बुद्ध, गोर्खा र शेर्पा भएकोले त्यसको प्रचार पनि गर्नु पर्ने उहाँको भनाई थियो । विदेशस्थित बिभिन्न नियोगहरुमा हुने नेपाली राजदूतहरुलाई जिम्मेवारी बहन गर्न विदेश जाँदा देशको इतिहासको बारेमा न्यूनतम् जानकारी गराउनु पर्ने उहाँको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. सुरेन्द्र केसीले लेख्न नपाईने पञ्चायती कालमा पनि बाबुराम आचार्यले इतिहास लेखन र संशोधन गर्ने काम गरेको उल्लेख गर्दै आचार्यले युगान्तकारी रचनाहरु छोडेर जानुभएको बताउदै आचार्यको विलक्षण प्रतिभा रहेको उल्लेख गर्नु भयो दृष्टि गुमाईसकेपछि पनि उहाँले दिने तथ्य र तथ्याङ्क अमूल्य रहेको र उहाँले इतिहास लेखनको राजमार्ग बनाएर आजको पिँढीलाइ हस्तान्तरण गर्नुभएकोले पूर्वजहरुले छोडेर गएको ज्ञानलाई संरक्षण गर्दै भोलिको पिँढीसम्म हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

वक्ता दिनेशराज पन्तले बाबुरामलाई राजा त्रिभुवनले नै इतिहासशिरोमणि उपाधि दिनुभएको बताउदै फागुन २९ गते स्मृति प्रतिष्ठानले बाबुराम आचार्यको स्मति दिवस मनाउन थालेको उल्लेख गर्नुभयो । यो कार्यमा प्रतिष्ठानले पनि सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
उहाले राणा शासन जस्तो शासकहरुको चाकडी गर्ने चलनरहेको युगमा पनि बिना चाकडी चन्द्र शम्शेरको पालामा खरदार बन्नुभएका बाबुराम आचार्य जुद्धशम्शेरको पालामा आँखा बन्द हुँदासम्म खरदारमै रहनु भएको महत्वपूर्ण कुरा बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले यो कार्यक्रमबाट बाबुराम आचार्यको बारेमा बिद्वानहरुबीच घनिभूत छलफल भएको र आचार्यको योगदानको विषयमा विद्वानहरुको ब्यापक सहभागिताले कार्यक्रम सफल भएकोमा गर्व लागेको बताउनु भयो साथै देशलाई चिनाउने नेपाल नामको बारेमा बाबुरामले स्पष्ट रुपमा हाम्रो संस्कृति भन्ने पुस्तकमा लेख्नु भएको छ ।
सबै इतिहासकारहरु भन्दा बाबुराम फरक भएको उहाँले उल्लेख गर्दै लिखित इतिहासले अलिखित इतिहासलाई ओझेलमा पारेको हुन्छ । लिखित इतिहास शासकको गुणगान वा तारिफ हुन्छ । अलिखित इतिहास जनताको इतिहास हुन्छ तर बाबुरामले अलिखित इतिहासको उजागर गरेको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल प्रज्ञा– प्रतिष्ठानबाट इतिहासको अध्ययन, अनुसन्धान र प्रकाशनमा थप सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउदै लिखित इतिहास भन्दा पनि अलिखित वा मौखिक इतिहासको संकलन र अनुसन्धानमा प्रतिष्ठानले काम गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले धन्यवाद ज्ञापन गर्दै बिगत १२, १३ वर्षदेखि बाबुरामको स्मृति दिवस मनाइरहेको जानकारी दिदै प्रतिष्ठानको सहकार्य रहँदै आएकोमा आगामी दिनमा प्रतिष्ठानले नै यस्ता कार्यक्रम आयोजना गरिदियोस् भन्ने अपेक्षा रहेको बताउनु भयो ।

कार्यक्रमलाइ समापन गर्दै सभाध्यक्ष तथा नेपाल प्रज्ञा–प्रतिष्ठानकी सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले बाबुराम आचार्यले गर्नुभएको योगदानको चर्चा गर्नु भएको थियो राणाकालिन समयमा निडरताका साथ इतिहास लेखनमा सक्रियता देखाउनु भएकोले इतिहासशिरोमणि भन्न पाएको उहाँले बताउनु भयो । प्रज्ञासभा सदस्य चेतनाथ धमलाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो
कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, प्राज्ञ परिषद् सदस्यहरु डा. मधुसुदन गिरी, डा. कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, हंसावती कुर्मी, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली प्राज्ञ सभाका सदस्यहरु, प्राज्ञ परिषद्का पूर्व पदाकिारीहरु, स्मृति प्रतिष्ठानका पदाधिकारीहरु, लगायतको सहभागिता रहेको थियो ।

बिस १९४४ साल फागुन २९ गते काठमाडौंमा जन्मिएका इतिहासशिरोमणि स्व. आचार्यले हाम्रो राष्ट्रभाषा नेपाली, दिब्य उपदेश, श्री ५ बडामहाराजधिराज पृथ्बीनारायण शाहको संक्षीप्त जीवनी, अव यस्तो कहिल्यै नहोस्, नेपालको संक्षीप्त बृतान्त, चीन–तिब्बत र नेपाल, भीमसेन थापालगायतका महत्वपूर्ण पुस्तकहरुसमेत लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर