दयाहाङ राई, कार्म र मिरुनाको अभिनय रहने फिल्म 'नाङ्गो गाउँ’ छायाङ्कनमा जाँदै — OSNepal

दयाहाङ राई, कार्म र मिरुनाको अभिनय रहने फिल्म ‘नाङ्गो गाउँ’ छायाङ्कनमा जाँदै

LC (KTM) March 21, 2023 0

समीक्षक हुँदै चलचित्र निर्देशक बन्नुभएका दीपेन्द्र लामाले छायाङ्कन अगाडि कार्यशाला गर्नुभएको छ । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उहाँले जानकारी दिनुभयो । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ ।

एकसाथ कार्यशाला गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भन्नुभयो, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।”

कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन कार्यशालामा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताउनुभयो ।

अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी कार्यशालामा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा छलफल भएको थियो । “कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ ? लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ”, अभिनेता राईले भन्नुभयो । यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ । कार्यशालाको सहजीकरण राजेश विश्वकर्माले गर्नुभएको थियो । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर