म्याग्दीको पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण — OSNepal

म्याग्दीको पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण

LC (KTM) March 21, 2023 0

म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहनुभएका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका एक सय ५९ जनसङ्ख्या लाभान्वित भएका जानकारी दिनुभयो ।

“मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ”, उहाँले भन्नुभयो, “आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।” दुईवटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए ।

कुल रु २६ लाख ७४ हजार तीन सय १४ लागत अनुमान गरिएको थियो । वेल्फेयरको रु १७ लाख छ हजार आठ सय ९७ र उपभोक्ताको रु नौ लाख ६७ हजार चार सय १६ को लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ ।

गत फागुन ६ गते सम्झौता भएको आयोजना यही चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सोमबार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । अधिकांश विकास आयोजना ढिलासुस्तीले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा अन्नपूर्ण गाउँपालिकामा थप दुईवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । पटारसहितका तीन आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कुल रु एक करोड ४० लाख १४ हजार नौ सय ३५ को लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठवटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रवन्धक बेलबहादुर गुरुङले जानकारी दिनुभयो ।

“अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दानाबजार र द्धवारी खानेपानी आयोजना पनि निर्माणको अन्तिम चरणमा छन्”, उहाँले भन्नुभयो, “संस्थाले कुल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।”

कुल रु ६७ लाख ६७ लागत अनुमान गरिएको दानाबजार खानेपानी आयोजनाबाट निर्माण हुने ५१ धारामार्फत दुई सय ३० जनसङ्ख्या लाभान्वित हुनेछन् । रु ४६ लाख ४० हजार पाँच सय ५४ लागत अनुमान गरिएको द्धवारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट एक सय १२ जनसङ्ख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको १० वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो । हाल खानेपानी र सरसफाइको अवस्था, आवश्यकता समेटिएको योजनाका आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तार योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताउनुभयो ।

खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, नौवटा विभिन्न निकायमार्फत निर्माणाधीन रहेका र मौजुदासहित रु ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औँल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर