नख्खु–भैंसेपाटी सडक स् ६ वर्षदेखि ‘भीआईपी’ सडककै कन्तबिजोग
ललितपुर । ललितपुरको नख्खु–भैंसेपाटी सडक खण्डको काम सुरू भएको ६ वर्ष भयो । अहिलेसम्म सडकले नयाँ स्वरुप पाउन सकेको छैन । त्यही बाटो पार गरेर दैनिक मन्त्रीदेखि विदेशी राजदूतसहित दर्जनौं भीआईपी ओहोरदोहोर गर्छन् । तर बाटोको बारेमा के भइरहेको छ भन्ने कसैलाई जानकारी छैन ।
बाटो निर्माण हुनुभन्दा पछि सुरू भएको भैंसेपाटीमा नयाँ मन्त्री क्वार्टर, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।
सडकको दुरावस्था हेर्न उपप्रधान तथा भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ उक्त क्षेत्रमा दुईपटक पुग्नुभएको छ । चार दिनअघि उहाँ दोस्रोपटक दलबलसहित सो सडकखण्ड पुग्नुभएको थियो । मन्त्री श्रेष्ठले तत्काल सडक कालोपत्रे गर्न निर्देशन दिँदै फर्कने गर्नुभएको छ । तर उपलब्धि हुन सकेको छैन । नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले सो बाटोको बारेमा आफूले दैनिकजसो फलोअप गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म यो क्षेत्रको सांसद भएपछि प्रतिनिधिसभामा विशेष समय लिएर सो सडक खण्डको बारेमा बोलेको थिएँ । तत्काल भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले टेलिफोन गरी सो सडकको निर्माण भइरहेको बताउनुभएको थियो, अहिले काम भइरहेको छ । हामीले वैशाखसम्म काम सक्ने आश्वासन पाएका छौं ।’