आख्यानकार कल्पना खरेलले ल्याइन् उपन्यास ‘पुरुष’ बजारमा — OSNepal

आख्यानकार कल्पना खरेलले ल्याइन् उपन्यास ‘पुरुष’ बजारमा

LC (KTM) April 16, 2023 0

काठमाडौँ । नयाँ वर्ष २०८० को अवसरमा आख्यानकार कल्पना खरेलले नवीतम कृति ‘पुरुष’ उपन्यास बजारमा ल्याएकी छन् । उज्जवल भविष्यको आशा राख्ने लेखक खरेलको नयाँ कृति ‘पुरुष’ उपन्यासमा विवेक र नैतिकतालाई हतियार बनाएकी छन् । यस उपन्यासमार्फत पुरुषहरुको अन्तर्भावनाको आवाज मुखरित गरेकी छन् ।

नारीमात्र पीडित छैनन्, पुरुषहरु पनि पीडित छन् भन्ने भाव व्यक्त भएको पुरुष उपन्यासमा पुरुषभित्रको सकसलाई भित्रैसम्म पसेर सूक्ष्म अन्तरदृष्टि लगाएर विषयवस्तु उनिएको लेखक बताउँछिन् । उनले भनिन्, ‘घर–घरको काहानी हो, पुरुष उपन्यास । पुरुषभित्रको दमन, कुण्ठा र पिडाको भवसागर हो । हरेक पुरुषको वेदनाको आवाज हो । पुरुष अधिकारको नेतृत्व गरेको छ, पुरुष उपन्यासले ।’

खरेलको यस उपन्यासले पुरुषका दबेका आवाजलाई आकर्षक ढंगले उठाउन सफल भएको छ । सबैलाई थाहा छ, घरमा सासू–बुहारीबीच बेमेलको वातावरण सृजना हुँदा एक पुरुष अति नै असहज स्थितिबाट गुज्रिरहेको हुन्छ । कसलाई स्वीकार्नु ? अनि कसलाई त्याग्नु ? आपसमा मिल्दै नमिल्नेलाई कसरी मिलाउनु ? पुरुषले भोग्ने यस्तो पीडाका बारेमा कहीँकतै आवाज उठेको छैन । बरु तिनै सासुबुहारीलाई उचालेर बाहिरी तत्वले परिवारभित्र खेल्ने गर्दछन् । जसको पीडा पनि त्यही पुरुषले भोग्नुपर्छ । यस्तै घरघरको काहानी यस पुरुष उपन्यासमा रहेको लेखकको दाबी छ ।

महिलाद्वारा लेखिएको पुरुष मनोविज्ञानमा आधारित ‘पुरुष’ उपन्यासमा ‘मर्द’को खोलभित्र लुकेका अनेकौँ कुण्ठाहरु उद्घाटन गरिएको छ । कतै पुरुषका आँसु पोखिएको छ त कतै पुरुष महिलाको चक्रव्युहमा फसेको कथा छ ।

खरेलका यसअघि पनि आधा दर्जनभन्दा बढी कृति प्रकाशित भैसकेका छन् । उनका ‘लभ इन जेरुसलेम’ उपन्यास, ‘समलिङ्गी सम्बन्ध’ उपन्यास, रानीतलाउ उपन्यास,‘रागिनी’ कथासंग्रह, ‘क्षितिजपारिका शब्दहरु’ गीतिसंग्रह, ‘कामना’ गीति एल्बम प्रकाशित छन् । खरेलको शब्दमा रहेको ‘सेतो कात्रोमा गोजी’ हुँदैन रचनालगायत दुई दर्जन गीतहरु समेत रेकर्ड भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर