रावा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने — OSNepal

रावा इनर्जीको आईपीओमा आजसम्म आवेदन दिन सक्ने

LC (KTM) April 20, 2023 0

काठमाडौं, ७ वैशाख । रावा इनर्जी डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा कार्यालयसमय भित्रमा आवेदन दिनुपर्ने हुन्छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारिमा रहेका नेपालीहरूका लागि चैत २३ गतेदेखि बिक्री खुला गरेको थियो ।कम्पनीले स्थानीय बासिन्दाहरुका लागि भने आवेदन म्याद थप गरेको छ । स्थानीय बासिन्दाले वैशाख २४ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन ।

कम्पनीले स्थानीय बासिन्दाहरुका लागि आफ्नो जारी पुँजीको २८ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । जसअनुसार १०० अंकित मूल्यमा २ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ । खोटाङ जिल्ला केपीलासगडी गा.पा. (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स. का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्ने यस कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात ५६ लाख रुपैयाँ बराबरको सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याईएको छ । प्रतिसेयर १०० अंकित दरले ५६ हजार कित्ता साधारण सेयरमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । 

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

रावा इनर्जीको आईपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, साबिकको सेन्चुरी बैंक (हाल प्रभु बैंक) बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटलबाट अर्थात प्रभु क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् सेयर भर्न सकिनेछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर