बैतडीमा विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण — OSNepal

बैतडीमा विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक वितरण

LC (KTM) April 23, 2023 0

बैतडी-बैतडीमा विद्यार्थी भर्नासँगै पाठ्यपुस्तक पनि वितरण थालिएको छ । गत विगतका वर्षमा समयमै पुस्तक अभाव हुने गरेको भए पनि यो वर्ष समयमै पाठ्यपुस्तक जिल्ला पुगिसकेका छन् ।जिल्लाभरिका विद्यार्थीलाई आवश्यक पर्ने सबै पाठ्यपुस्तक पुगिसकेको र विद्यार्थी भर्नासँगसँगै पाठ्यपुस्तक वितरणको काम पनि जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि आवश्यक पर्ने ८६ हजार पाठ्यपुस्तक गत हप्ता नै पुगिसकेका थिए, सबै विद्यालयले ढुवानी गरेर भर्नासँगसँगै वितरण जारी राखेका छन् ।”

कुनै विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान गरिरहेका र कुनैले सूचना जारी गर्दै भर्ना गर्न आग्रह गरिरहेका छन् । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरेको र सँगसँगै पाठ्यपुस्तक पनि वितरण जारी रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई सँगसँगै पाठ्यपुस्तक वितरण गर्ने गरेका छौँ, यसले विद्यार्थी पनि खुसी छन् ।”

नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो अभियान जारी रहेको पाठ्यपुस्तक वितरण पनि थालिएको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक तेजप्रकाश भट्टले बताउनुभयो । बैतडीमा पाँच सय ६२ विद्यालय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर