एक मन्त्रालयसहित लोसपा मधेस सरकारमा — OSNepal

एक मन्त्रालयसहित लोसपा मधेस सरकारमा

LC (KTM) May 26, 2023 0

धनुषा-जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेस सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिनुभयो । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशङ्कर मिश्रले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ गराउनुभयो ।

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैँसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । अब वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुङ्गो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नाम पछि टुङ्गो लाग्ने बताइएको छ ।

सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेस प्रदेशमा अब पाँचौँपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर