निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा सुतेर जीवनका लागि संघर्ष गर्दै तर वीर र शिक्षणका अत्याधुनिक भवन खाली — OSNepal

निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा सुतेर जीवनका लागि संघर्ष गर्दै तर वीर र शिक्षणका अत्याधुनिक भवन खाली

LC (KTM) May 15, 2021 0

काठमाडौं । महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् ।पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ । अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ । तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन् । यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेडसमेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन् ।

टेकुको इमर्जेन्सी वार्डका प्र्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘सकेसम्म हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई वार्डमा सार्ने कोसिस गरिरहेका छौँ । तर, वार्डमा सबैजना गम्भीर बिरामी भएकाले निको हुने दर कम छ, अपेक्षित बेड खाली हुन सकेको छैन । त्यसैले आइसियूमा राख्नुपर्ने बिरामीसमेत तीन–चार दिन बाहिरै हुनुहुन्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

एकातिर निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा छन्, उता दुई किलोमिटर पर वीर अस्पतालमा भर्खरै निर्माण गरिएको भव्य सर्जिकल भवन खाली छ । दुई अर्ब २६ करोड लगानीमा भर्खरै निर्माण भएको यो भवनमा ६ सय ५० बेड राख्ने योजना छ । कम्तीमा दुई सय ७० बेडमा तत्कालै बिरामी राख्न सकिने स्वास्थ्य मन्त्रालयले नै स्पष्ट पारेको छ । टेकु वा अन्य अस्पतालको पेटीमा रहेका बिरामी वीरमा सार्न सकिए कम्तीमा न्यानो बेडमा उपचार पाउँथे । तर, सरकारले अक्सिजन नदिएको भन्दै वीरले नयाँ बेड सञ्चालन गरेको छैन ।

वीरको सर्जिकल भवनमा कम्तीमा एक सय नयाँ बेडमा मंगलबारदेखि नै कोभिडका बिरामी राख्ने तयारी गरिएको थियो । तर, अक्सिजन नपाएकाले बिरामी राख्न नसकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सर्जिकल भवन सञ्चालन गर्न वीरलाई पटकपटक निर्देशन दिएको छ । तर, सरकारले अक्सिजन नदिएका भन्दै वीरले नयाँ बेडमा बिरामी राख्न मानेको छैन । ‘एक सय नयाँ बेड अहिले नै सञ्चालन गर्न सकिन्छ । तर, पुरानै भवनमा भएका बिरामीलाई पनि पुग्ने अक्सिजन आएको छैन । थप बिरामी भर्ना गर्ने, तर भोलि अक्सिजन नपाएर उनीहरूको मृ त्यु भयो भने जिम्मेवारी कसले लिने रु’ निमित्त निर्देशक शान्ता सापकोटाले प्रश्न गरिन् । यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भए पनि अक्सिजनको विषयमा भरपर्दो जवाफ नआएको उनले बताइन् ।

तस्विर : नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर