वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो — OSNepal

वातावरण प्रदूषण नियन्त्रणका लागि सबैले आफैबाट सुरुआत गरौँ : मन्त्री महतो

LC (KTM) June 05, 2023 0

काठमाडौँ-वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभएको छ ।विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले आज यहाँ आयोजना गरेको मूलसमारोहलाई सम्बोधन गर्दै उहाँले मन्त्रालयमातहतका निकायमा वातावरणसम्बन्धी काममा दोहोरोपन हुन नहुने उल्लेख गर्नुभयो । मातहतका निकायलाई निर्देशन दिँदै मन्त्री महतोले भन्नुभयो, “परिणाम देखिने गरी कार्यदिशा र योजना आजैका मितिदेखि बनाउनुस् ।”

दक्षिण एसियाका प्रायः मुलुकमा युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको तथ्य उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो, “नेपालमा अझै पनि युरो–३ स्टाण्डर्डका सवारीसाधन किन आयात भइरहेका छन् ।”

मन्त्री महतोले पुराना र बढी धुँवा फाल्ने सवारीसाधन विस्थापित गर्ने, युरो–३ स्टाण्डर्डभन्दा माथिका सवारी आयात हुने गरी एक हप्ताभित्र प्रतिवेदन तयार गर्न विभागलाई निर्देशनसमेत दिनुभयो । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यसवर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा वातावरणीय कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष उक्त दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा पूर्वमन्त्री गणेश साहले सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भइसकेको बताउनुभयो । उहाँले मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा वातावरणसम्बन्धी विद्यमान ऐन, नियम र नीति परिमार्जनको आवश्कता आँैल्याउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्यालले प्रकृतिले मानिसलाई धेरै कुरा दिएको भए पनि मानिसकै क्रियाकलापका कारण प्रकृति कुरुप बन्दै गएकाले सबै सचेत हुनु आवश्यक छ भन्नुभयो । उहाँले प्लास्टिकजन्य प्रदूषण नियन्त्रणका लागि प्लास्टिकको पुनःप्रयोगमा जोड दिन आग्रह गर्नुभयो ।

विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठूलो चुनौतीका रुपमा रहेको र यसको नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट आवश्यक काम गरिरहेको जानकारी गराउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्रा डा रेजिना मास्केले प्लास्टिक बिना जीवन चल्न गाहे भइसकेको वर्तमान अवस्थामा प्लास्टिकजन्य प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि प्लास्टिकको पुनःप्रयोग पुनःचक्र्रण गरिनुपर्ने बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले यस्ता दिवसले जनचेनता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै वातावरण संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिनुभयो

कार्यक्रममा अन्तर्राष्ट्रिय वातावरण दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा मन्त्री महतोले वायु गुणस्तर प्रतिवेदन, २०२१ पुस्तक विमोचन गर्नुभएको थियो । सो अवसरमा वातावरण संरक्षण तथा जनचेतनामूलक सामग्री प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर