नागरिकता विधेयकमा कोही बाधक नबनोस् : नेता निधि — OSNepal

नागरिकता विधेयकमा कोही बाधक नबनोस् : नेता निधि

LC (KTM) June 08, 2023 0

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको र संविधान कार्यान्वयनको दायित्व न्यायपालिकाको समेत रहेकाले अवरोधक नबन्न आग्रह गर्नुभएको छ । बुधबार जनकपुरधाममा अयोजित नेपाल मुस्लिम सङ्घ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा पूर्वउपप्रधान तथा गृहमन्त्री निधिले बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकताविहीन रहेको अवस्था मधेसको घर–घरको समस्या रहेकाले संविधानको अवधारणाविपरीत नागरिकको भविष्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नरहेको बताउनुभयो ।

जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको जानकारी गराउँदै निधिले अदालत संविधानको मर्मअनुुसार नै आएको नागरिकता कानूनको बाधक नबन्नेमा कांग्रेसलाई विश्वास रहेको भन्दै यदि अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन नेता, कार्यक्रतालाई निर्देशन दिनुभयो ।

नेता निधिले यो सरकार पाँच वर्ष चल्ने र तीन जना प्रधानमन्त्री बन्ने समेत बताउनुभयो । पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (हाल), दोस्रो माधव नेपाल र तेस्रो शेरबहादुर देउवा हुने नेता निधिले स्पष्ट पार्नुभयो ।

उहाँले आगामी संसदीय निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा आफू रहेकोसमेत बताउनुभयो । नेता निधिले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको जिकिर गर्दै मुस्लिम समुदायको भलो चाहने पार्टी कांग्रेसबाहेक अरु हुनै नसक्ने बताउनुभयो ।

आफ्नो पहलकदमीमा नेपालमा पहिलोपटक मदरसालाई सरकारको औपचारिक सहयोग हुन थालेको स्मरण गर्दै निधिले सङ्घको धनुषा अधिवेशन सर्वसम्मत गरी २०८४ सालमा तीनै तहको निर्वाचन कांग्रेसले एक्लै जित्ने गरी अभियानमा लाग्न निर्देशनसमेत दिनुभयो ।

कार्यक्रममा कांग्रेसका नेता तथा मधेस प्रदेशसभा सदस्य रामसरोज यादव, कांग्रेस धनुषा सभापति योगेन्द्र पजियार, जनकपुरधामका नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साह, सङ्घका अध्यक्ष इब्राहिम राइनसहितले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर