पोखरा रङ्गशालाभित्र निर्माण गरिने खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास — OSNepal

पोखरा रङ्गशालाभित्र निर्माण गरिने खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास

LC (KTM) May 08, 2021 0

गण्डकी – गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गर्नुभयो ।प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो ।

गत फागुनमा प्रदेश सदस्य सचिव सहित परिषद्का पदाधिकारी र सदस्यहरु नियुक्त भएपनि पूर्वाधार अभावमा उहाँहरुको पदस्थापन हुन सकेको छैन । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताउनुभयो ।विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।मन्त्री गुरुङले गण्डकीका ११ वटै जिल्लामा रहेका खेलकूदको सम्पत्ति तथा पूर्वाधारहरुको यकिन विवरण खोजी गर्ने काम अघि बढाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“हामी नियुक्त भएर आएको एक साता मात्र भएको छ । अब हामी प्रदेशको ११ वटै जिल्लामा कहाँ कहाँ खेलकूदको सम्पत्ति त्यसको खोजीनीतिमा लाग्ने छौँ । त्यस सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा लगाउने योजना छ ।”

कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
खेलकूद परिषद्का सदस्य सचिव गुरुङले कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा शिलान्यासको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।“खेलकूद परिषद्को प्रशासनीक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो । अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुनेछ । ” उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर