शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री — OSNepal

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण : अर्थमन्त्री

LC (KTM) July 10, 2023 0

काठमाडौँ-अर्थमन्त्री डा प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । पब्लिक युथ क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहमा मन्त्री डा महतले भन्नुभयो, “पब्लिक क्याम्पस महत्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।”

पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिँदै मन्त्री डा महतले भन्नुभयो, “पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।” स्थानीय तहमा साधनस्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पब्लिक क्याम्पसमा विद्यार्थीलाई आकर्षित गर्ने सबभन्दा ठूलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त धेरे छ ।”

मन्त्री डा महतले भन्नुभयो, “बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरु कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्यप्त छ । यसलाई ‘रिर्भस’ गर्नुपर्ने आजको आवश्यकता छ ।”
मानिसले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्णरुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा आफूहरुले विश्वास गर्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर