वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ — OSNepal

वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम लिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

LC (KTM) July 13, 2023 0

काठमाडौँ-उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताउनुभएको छ । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सुशासनलाई आत्मसात् गरेर सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सुशासन समृद्धिको पूर्वसर्त हो । सुशासनलाई आत्मसात् गरेर हामी अगाडि बढ्छौँ । सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “सुशासनका सन्दर्भमा सरकारले चालेको कदमलाई सिङ्गो देश र सदनले जुन समर्थन व्यक्त गरेको छ, त्यसको म उच्च मूल्याङ्कनसहित आभार व्यक्त गर्न चाहन्छु ।”

धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले निर्दोष कुनै पनि हालतमा नफसुन, दोषी अपराधी नछुटुन भन्ने मान्यताअनुसार सुशासनको अभियान अगाडि बढेको बताउनुभयो ।

उहाँले साधनस्रोतको सीमाका बीच गृह मन्त्रालयका कामलाई अगाडि बढाउन प्रयत्न गरिएको जानकारी दिनुभयो । “प्रहरी फोर्सभित्र वृत्तिविकास र भौतिक पूर्वाधारको समस्या छ”, उहाँले भन्नुभयो, “सीमासुरक्षा, अपराध नियन्त्रण, शान्तिसुरक्षा प्रभावकारी बनाउने, लागुऔषध नियन्त्रण, विपद् व्यवस्थापन, भेदभावको अन्त्यका कामलाई व्यवस्थित र प्रभावकारी बनाउन साधनस्रोतको सीमाका बाबजुद हामी अधिकतम प्रयास गरिरहेका छौँ ।”

सरकार प्रहरी समायोजनको प्रक्रियालाई निष्कर्षमा पु¥याउन दृढ रहेको उहाँको भनाइ छ । तस्करी, लागुऔषधको ओसारपसार तथा दुव्र्यसनी नियन्त्रण गर्न मन्त्रालयले गम्भीरतापूर्वक काम अगाडि बढाएको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर