प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको घुइँचो — OSNepal

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको घुइँचो

LC (KTM) July 17, 2023 0

म्याग्दी- म्याग्दीको बेनीनगरपालिका –९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आज भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा पूजापाठ गर्न भक्तजनको घुइँचो लागेको हो । साउन महिनाको सोमबार भगवान् शिवको पूजाआराधाना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । बिहानैदेखि भक्तजनको आगमन बढेको र व्यवस्थित तवरले पूजा र दर्शन गर्ने प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्षमा धवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

सोमबारका दिन भक्तजनको घुइँचो लाग्ने भएकाले कोषका अध्यक्ष रेग्मीको संयोजकत्वमा १०२ सदस्य मूल तयारी समिति र विभिन्न २३ वटा उपसमितिले पूजापाठ र मन्दिरमा दर्शन गर्न भक्तजनलाई व्यवस्थापन गरेका छन् । शालिकग्राम पाइने एक मात्रै कालीगण्डकी नदीको किनारस्थित विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै, बागलुङ, पर्बत, कास्कीलगायत क्षेत्रबाट भक्तजन आएका छन् । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठका साथै १०८ शिवलिङ्मा कालीगण्डकी नदीको जल अर्पण गरेमा पारिवारिक सुख, शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

गलेश्वरमा आज २५ हजार बढी भक्तजनले पूजापाठ गर्ने कोषको अनुमान छ । भक्तजनको सहजताका लागि विभिन्न सङ्घ संस्था, क्लब र विद्यालयले स्वयमसेवकको भूमिका निर्वाह गरेका छन् । कालीगण्डकी नदीको किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाक्षा पूरा हुने विश्वासले साउन महिनामा यहाँ भक्तजनाको भीड लाग्ने गर्छ ।

विशेष गरेर विवाहीत महिला पारिवारिक सुख र अविवाहीत राम्रो बर पाइयोस् भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी व्रत बस्ने चलन रहेको छ । गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रीमा विशेष धार्मिक मेला लाग्ने गर्छ ।
मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तीर्थस्थलको रुपमा परिचित छ । गलेश्वरमा भक्तजनबाट सङ््कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शीरुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट सङ्कलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्चिदै आइएको छ । गलेश्वरमा आउने हजारौँ भक्तजनकाकारण मन्दिरमा चढाउने नरिवलसँगै फूलप्रसादको व्यापारसमेत ह्वात्तै बढ्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर