‘कर्णाली प्रदेश विद्युत् विधेयक’ सभामा टेबुल — OSNepal

‘कर्णाली प्रदेश विद्युत् विधेयक’ सभामा टेबुल

LC (KTM) August 02, 2023 0

कर्णाली-‘कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गरिएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको मंगलबार बसेको २८औँ बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीलाई उक्त विधेयक सभासमक्ष टेबुल गर्न अनुमति दिनुभएको थियो । मन्त्री जिसीले सो विधेयक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १११ को उपनियम ३ बमोजिम सभासमक्ष टेबुल गर्नुभएको हो ।

उहाँका अनुसार प्रदेशस्तरमा उपलब्ध जलविद्युत्, नवीकरण र अन्य ऊर्जाका स्रोतको दिगोरूपमा अधिकतम र उचित परिचालनका माध्यमबाट विद्युत् उत्पादन, प्रसारण र वितरण प्रवर्द्धन गरी उपभोक्तालाई वातावरणमैत्री, स्वच्छ, नियमित, भरपर्दो गुणस्तरीय सुरक्षित तथा सर्वसुलभरूपमा विद्युत् सेवा उपलब्ध गराउनका लागि कानूनी व्यवस्था गर्न आवश्यक भएकाले प्रदेश सरकारले विधेयक ल्याएको हो ।

उक्त बैठकमा प्रदेशसभा सदस्यले विशेष समयमा उठाएका सार्वजनिक सरोकारका विषयमा मन्त्री जिसीसहित भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले क्रमशः कर्णालीको प्राकृतिक विपद् प्रतिकार्यका लागि पूर्वतयारी, आवश्यक जनशक्तिको व्यवस्थापन, सामग्रीको जोहो र त्यसमा लाग्ने बजेटसहित प्रदेश सरकार तयारी अवस्थामा रहेका बारेमा जवाफ दिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही साउन २३ गते दिउँसो ३ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर