अबको एक–दुई दिन वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा — OSNepal

अबको एक–दुई दिन वर्षा कमहुँदै जान्छ : मौसम पूर्वानुमान महाशाखा

LC (KTM) August 15, 2023 0

काठमाडौँ, ३० साउन : गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ । शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखका मौसमविद् रोजन लामिछानेका अनुसार अबको दुई÷तीन दिन वर्षा धेरै हुने देखिँदँै । “मनसुन अबको दुई तीन दिन सक्रिय हुने देखिँदैन । यसको अर्थ वर्षा नै नहुने भन्ने होइन तर, निरन्तर र भारी वर्षाको सम्भावना छैन । शनिबार र आइतबार बढी वर्षा भयो, अब यो क्रमशः कम हुँदै जानेछ”, उहाँले भन्नुभयो ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद् लामिछानेले बताउनुभयो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आङ्शिकदेखि सामान्य बदली छ । कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो र सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सङ्खुवासभा, कास्की लमजुङ, बझाङ, बैतडी, दार्चुला, डडेलधुरा, कन्चनपुर र आसपास भई बहने केही स–साना नदीहरुमा बहाब बढ्नसक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सामान्य सनकर्ता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार भोलि र पर्सी देशभरका प्रमुख नदीमा जलसतह घट्दो हुने तथा सतर्कता तहभन्दा तल हुने, नदी तटीय क्षेत्रका क्रियाकलाप उच्च सतर्कताका साथ गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर