अध्यक्ष ओलीसँग अमेरिकी सिनेट सदस्यको भेट — OSNepal

अध्यक्ष ओलीसँग अमेरिकी सिनेट सदस्यको भेट

LC (KTM) September 03, 2023 0

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित एमाले संसदीय कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच शान्तिप्रक्रिया र मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी)को कार्यान्वयनबारे छलफल भएको उपाध्यक्ष्य नेम्बाङले बताउनुभयो ।

उहाँका अनुसार अध्यक्ष ओलीले नेपाल र आफू नेतृत्वको पार्टीको दृष्टिकोण राख्नुभयो । “शान्तिप्रक्रिया हाम्रो सरकार हुँदाकै बेलामा टुङ्गोमा पुर्‍याउने गरी प्रयास गरेको कुरा पार्टी अध्यक्षले प्रस्टसँग राख्नुभयो”, उपाध्यक्ष नेम्बाङले भन्नुभयो, “अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला र शान्तिप्रक्रिया पीडितमैत्री हुने गरी टुङ्गोमा पुग्नुपर्दछ भन्ने कुरालाई ध्यानमा राखेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन हाम्रोबाट भूमिका हुन्छ, सहयोग हुन्छ । यही ढङ्गबाट हामी लाग्छौँ भनेर अध्यक्षज्यूले भन्नुभयो ।”

सिनेटर होलेनले शान्तिप्रक्रियाबारे जिज्ञासा राख्दै दुई देशबीचमा अहिले रहेको सम्बन्धलाई अझ सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमसिसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गरेको कुराले आफूहरु खुसी भएको बताउनुभएको एमाले उपाध्यक्ष नेम्बाङले जानकारी दिनुभयो । भेटवार्तामा एमालेका उपमहासचिव विष्णु रिमाल र एमाले विदेश विभागका सचिव डा अन्जान शाक्यसमेत सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर