अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप — OSNepal

अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

LC (KTM) September 06, 2023 0

सैनिक हिरासतमा रहनु भएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उहाँका कान्छा छोराले लगाउनुभएको छ ।

दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उहाँका छोरा किम एरिसले बताउनुभएको हो । बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताउनुभयो ।

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खाननसक्ने अवस्थामा पुग्नुभएको उहाँले बिबिसी वर्मेली सेवालाई बताउनुभयो । उहाँ न्युन रक्तचापबाट पनि पीडित हुनुहुन्छ । कारागार स्रोतले पनि नेत्री सुची भोजन गर्न असमर्थ भएकी बताएको छ । यद्यपि एक सैन्य प्रवक्ताले उहाँको स्वास्थ्यमा समस्या नभएको तथा सैनिक एवं गैरसैनिक चिकित्सकहरूबाट नियमित रुपमा स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको दाबी गरेका छन् । उहाँको दाँतको दुखाई कम गर्ने उद्देश्यले नरम खाना र औषधियुक्त जेली खुवाइएको बताइएको छ ।
सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछ हजारौँले ज्यान गुमाएका छन् । यो हिंसाका घटना बढिरहेका छन् । गत जुलाईमा उहाँलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर नोबेल पुरस्कारबाट सम्मानित सुचीलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन ।

बेलायतमा बस्दै आएका एरिसले आफ्नी आमाले वान्ता गरिरहेकी र मुर्छापर्ने गरेको जनाउँदै उपयुक्त चिकित्सा सेवाबाट बिरामीलाई वञ्चित गर्नु क्रूरताको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ । उहँले आमाको बिग्रदो स्वास्थ्यले जीवन नै जोखिममा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

देशका सबै राजनीतिक दलहरूको गठबन्धन सम्मिलित म्यान्माको निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेत्री सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ ।

धेरै विश्वका धेरै नेताले पनि उहाँको निःशर्त रिहा गर्न माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् । मङ्गलबार इन्डोनेसियाको राजधानी जकार्तामा सुरु भएको दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को द्विवार्षिक शिखर सम्मेलनमा म्यान्माको राजनीतिक सङ्कटलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको थियो ।

आसियान नेताहरूले त्यहाँ जारी हिंसाको लागि म्यान्माका सैन्य अधिकारी जिम्मेवार रहेका भन्दै उनीहरूको निन्दा गरेका थिए । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि शिखर सम्मेलनमा म्यान्मालाई आमन्त्रित नगरेको यो दोस्रो वर्ष हो । अघिल्लो वर्ष पनि म्यान्मालाई आमन्त्रण गरिएको थिएन । मङ्गलबारको बैठकमा आसिन नेताहरूले म्यान्मा सङ्कट समाधानका निम्ति गत वर्ष सैन्य सरकारलाई दिइएको पाँचुबँदे मार्गचित्र कार्यान्वयन नगरेमा त्यसको पनि आलोचना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर