सभामुख घिमिरे र अष्ट्रेलियन राजदूतबिच शिष्टाचार भेट — OSNepal

सभामुख घिमिरे र अष्ट्रेलियन राजदूतबिच शिष्टाचार भेट

LC (KTM) September 07, 2023 0

काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । “आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनमा अझ फराकिलो र गहिरो बन्दै गएकामा खुसी लागेको छ”, उहाँले भन्नुभयो ।

नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अष्ट्रेलियामा रहेको बताउँदै सभामुख घिमिरेले उनीहरुको शैक्षिक वृत्ति विकासबारे चासो लिनुभएको थियो । राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै उहाँले क्यानबेरामा बढी बोलिने भाषामा नेपाली तेस्रो स्थानमा रहेकोसमेत जानकारी गराउनुभयो ।

राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै गएको वैशाखमा अष्ट्रेलियाका सहायक विदेश मामिलामन्त्री टिम वाट्सले नेपाल भ्रमण गरेको स्मरण गराउनुभयो । उहाँले आगामी अक्टोबरमा अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर