एकताको भावना प्रवर्द्धन गर्न जी-२० सफल भयो :रूस — OSNepal

एकताको भावना प्रवर्द्धन गर्न जी-२० सफल भयो :रूस

LC (KTM) September 10, 2023 0

नयाँदिल्ली, २४ भदौ । रूसले नयाँदिल्ली शिखर बैठकबाट करिब एक सय देशमा सदस्यता विस्तार गरेको अन्तरसरकारी सङ्गठन जी-२० को १८ औँ शिखर बैठक औद्योगिक एवं आर्थिक रुपमा कम विकसित देशबीच एकता र सहकार्यको भावना प्रवर्द्धन गर्न सफल भएको बताएको छ ।

रूसी विदेश मन्त्री सेर्गेई लाभरोभले जी-२० को इतिहासमा पहिलो पटक औद्योगिक एवं आर्थिक विकासको बाटोमा विस्तारै अग्रसर भइरहेका देशलाई वास्तवमै एकताबद्ध गर्न समूहको नयाँदिल्ली शिखर सम्मेलन सफल भएको बताएका छन् । भारतको सक्रिय अध्यक्षतामा पहिलोपटक ग्लोबल साउथका मुलुकलाई एकताबद्ध गर्न सफलता मिलेको उनले शिखर सम्मेलनको समापनपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताए ।

विदेशमन्त्री लाभरोभले स्पष्ट र समतामूलक विकास एवं सन्तुलनका लागि प्रयास गर्न घोषणापत्रमा जोड दिइएकामा त्यसको सराहना गर्दै पश्चिमा देशहरूले जलवायु परिवर्तनसँग जुध्न आर्थिक सहायता जुटाउन गरेका प्रतिबद्धताको पूर्णरुपमा पालना नगरेको आरोप लगाए । ब्रिक्सका साझेदार ब्राजिल, भारत, चीन, दक्षिण अफ्रिका विशेष रूपमा सक्रिय रहेका बताउँदै उनले आर्थिक विकासमापछि परेका देशलाई अब सहकार्य गर्न सहज हुने विचार व्यक्त गरे ।

पश्चिमा जगत्ले पनि धेरै पहिले जलवायु परिवर्तनका नकारात्मक परिणामहरूको सामना गर्न वार्षिक एक सय अर्ब अमेरिकी डलर उपलव्ध गराउने वाचा गरेको तर त्यसमा केही प्रगति भएको छैन । यद्यपि विश्वव्यापी अर्थतन्त्रमा सन्तुलन कायम गर्न दीर्घकालीन प्रतिवद्धताअनुसार गर्नुपर्ने काम घोषणापत्रमा उल्लेख गरिएकामा त्यसको प्रशंसा गरे । उनले आगामी नोभेम्बरको अन्त्यमा नयाँदिल्ली शिखर बैठकमा प्रस्ताव गरिएका अन्तरराष्ट्रिय आर्थिक सहयोगका विषयबारे छलफल गर्न भारतका प्रधानमन्त्रीबाट भएको प्रस्तावप्रति समर्थन जनाउँदै त्यो हिजो र आज भएका सम्झौता कार्यान्वयनको समीक्षा गर्ने अवसर हुने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर