केवलकार सञ्चालनमा आएपछि मौलाकालिका मन्दिरमा भक्तजनको सङ्ख्या बढ्यो — OSNepal

केवलकार सञ्चालनमा आएपछि मौलाकालिका मन्दिरमा भक्तजनको सङ्ख्या बढ्यो

LC (KTM) September 11, 2023 0

चितवन, २५ भदौ : मौलाकालिका मन्दिर पुग्ने केवलकार सञ्चालनमा आएपछि भक्तजनको सङ्ख्या बढेको छ । विगतको तुलनामा २५ प्रतिशत भक्तजन बढेका हुन् ।धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार केवलकार चलेपछि भक्तजनको सङ्ख्या २५ प्रतिशत हाराहारी बढेको छ । अहिले शनिबार एक हजार पाँचको हाराहारी भक्तजन मन्दिर दर्शनका लागि पुग्ने गरेका छन् । अन्य बार यो सङ्ख्या तीन सयदेखि पाँच सय हाराहारी हुन्छ । बिदाको दिन र पर्व विशेषमा सङ्ख्या बढ्ने गर्दछ । यो सङ्ख्या पहिलेको तुलनामा २५ प्रतिशत हाराहारी बढी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ११ बजेपछि आउने प्रायः भक्तजन केवलकारकै कारण आएका हुन् ।” दिउँसोको समयमा गर्मी हुने भएकाले पैदल हिँड्ने भक्तजन कम हुने गर्दछन् । बिहानीको समयमा केवलकारसँगै पैदलै भक्तजन मन्दिर पुग्ने गर्दछन् ।

केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केवलकारको उद्घाटन गर्नुभएको हो । मौलाकालिका केवलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार वैशाख महिनामा २५ हजारले केवलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिनुभयो ।

भदौ महिनासँगै सङ्ख्या बढ्दै गएको छ । केवलकारले बुधबार दिउँसो २ बजेपछि ५० प्रतिशत शुल्क कम गरेको छ । अन्य समयमा रु पाँच सय ५० शुल्क लाग्ने गरेको छ । केवलकारकारको दूरी पाँच मिनेटको छ । केवलकारबाट झरेर पैदल यात्रा गरी मन्दिर पुग्न सकिन्छ । केवलकार स्थानीयवासीको सहकार्यमा आइएमइ ग्रुपले निर्माण गरेको हो ।

केवलकार बनेसँगै नवलपरासी, चितवन, तनहुँसँगै छिमेकी जिल्ला र बाहिरी जिल्लाबाट घुम्न आएका पर्यटक मन्दिर पुग्ने गरेका छन् । मन्दिरमा बिहान ५ बजेअघि र साँझ घाम डाँडामा पुगेपछि आरती गर्ने गरिन्छ । मन्दिरसँगै सञ्चालनमा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलमका ३२ जना र पुजारी कर्मचारीसँगै भक्तजनले आरती गर्ने गर्दछन् ।

विसं २०५३ मा बनेको मन्दिरको विसं १५७५ देखिको इतिहास छ । सातामा करिब १५ हजारले मन्दिरको दर्शन गर्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । बर्सेनि १० प्रतिशतले भक्तजनको बढेको उहाँको दाबी छ । नवलपरासी, चितवन, मकवानपुर, धादिङ, तनहुँलगायतका जिल्ला र भारतका विभिन्न स्थानबाट दर्शनका लागि भक्तजन आउने गरेको सापकोटाले बताउनुभयो । मन्दिर आउने पर्यटकमध्ये पाँच प्रतिशत पर्यटक भारतीय रहेको उहाँको भनाइ छ ।

करिब पाँच सय वर्ष पहिले पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपीठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो ।विशेषतः शनिबार र बिदाका दिन मन्दिरमा तीर्थालुको घुइँचो लाग्ने गरेको छ । हरेक बिहान ‘मर्निङ वाक’ गर्नेहरूको ठूलै भीड मन्दिरमा हुने गरेको छ । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर