सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे — OSNepal

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे

LC (KTM) September 23, 2023 0

तनहुँ, ६ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ सिथ्त बिपी वनबाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उहाँले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको औँल्याउनुभयो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक मुलुक नेपाल भएको उल्लेख गर्दै उहाँले केही तत्वले सामाजिक सद्भावलाई खल्बल्याउने प्रयत्न गरिरहेको बताउनुभयो । सामाजिक सद्भाव खल्बलाएर उद्देश्य पूर्ति गर्न खोज्नु प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने खेल भएकाले यस्ता तत्वदेखि सदैव सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा चित्त बुझ्दो किसिमले काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको क्षेत्रमा अलि पछि रहेकाले अबको प्रत्येक क्रियाकलाप आर्थिक समृद्धितर्फ जोडिनुपर्छ ।” गण्डकी प्रदेश सरकारले हरेक विकासे अड्डालाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेको उहाँको भनाइ थियो ।

कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौँ, उहाँले भन्नुभयो, “स्वदेशमा बसेर केही गर्न चाहने युवालाई कृषि, उद्योगलगायतका क्षेत्रमा अनुदानसहित सहयोग गर्न गइरहेका छौँ ।” सङ्घ, स्थानीय र प्रदेश सरकारको संयुक्त प्रयासमा आर्थिक समृद्धि बढाउने किसिमका कार्यमा सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर