बागमती प्रदेशसभाको बैठक : सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत — OSNepal

बागमती प्रदेशसभाको बैठक : सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

LC (KTM) October 01, 2023 0

मकवानपुर, १४ असोज : बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गर्नुभयो ।

उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाउनुभएको राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिनुहुँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताउनुभयो । उहाँले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री लामाले देशमा यदाकदा चिकित्सकहरूमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको र ती अभियुक्तहरूलाई कारबाही गर्न सङ्घीय सरकारले कदम चालेको र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहकार्य गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि प्रोत्साहन र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमा लेखिएको समाचारको आधारलाई सत्य हो वा होइन भन्ने अनुसन्धान गर्ने सरकारी निकायहरू रहेको उल्लेख गर्नुहुँदै आफ्नो पार्टीका तर्फबाट मन्त्री नियुक्त हुनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामा कुनै सुन काण्डमा संलग्न नरहेको र दोषी पाएमा कानूनबमोजिम सजाय भोग्नुपर्नेतर्फ संसद्मा स्पष्ट पार्नुभयो ।

मन्त्री लामाले बडा दसँैको उपलक्ष्यमा बजारमा रहेका सबै पसलमा मूल्यसूची राख्नुपर्ने र सर्वसाधारणहरूलाई लत्ताकपडा, खाद्यान्न, मसला, तेललगायत तरकारीहरू सुपथ मूल्यमा उपलब्ध गराउन स्थानीय प्रशासनमार्फत सबै जिल्लामा व्यवस्थापन मिलाउन सरकारले निर्देशन दिइसकेको बताउनुभयो ।

सरकारले सबै दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार एवं विपन्न नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको आफ्नो क्षमताअनुसार स्रोतसाधन परिचालन गर्नेतर्फ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

सोही बैठकमा जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामाले केही दिनअघि विभिन्न पत्रिकामा आएको समाचारलाई आधार बनाई आफू सुन कारोबारमा संलग्न रहेको भनी आएको चर्चा–परिचर्चा सत्य नभएको स्पष्ट पार्दै आफूले प्रेस विज्ञप्तिमार्फत सबै सत्यतथ्य सार्वजनिक गरिसकेको पनि जानकारी दिनुभयो । उहाँले आफूलाई लागेको आरोपमाथि सम्बन्धित निकायको अनुसन्धान गर्ने निकायहरूबनाट आफूलाई सोधपुछ अथवा कुनै पक्राउ पुर्जी जारी नभएको पनि उल्लेख गर्दै आफूमाथि लागेको आरोपको सत्यतथ्य प्रमाणित गरी अघि बढाउन नेपाल प्रेस काउन्सिलमा आफूले उजुरी दर्ता गरेको पनि बताउनुभयो ।

मन्त्री लामाले आफू राजनीतिक दलको इमान्दार कार्यकर्ता भएको र आफुले गर्दै आएको समाजसेवा र राजनीतिप्रति वितृष्णा उत्पन्न गर्नका निमित्त केही सञ्चारगृहहरू आफूमाथि प्रयोग भएकामा दुःख व्यक्त गर्नुभयो । प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको दोस्रो बैठक ३ः३० बजेका लागि आह्वान गर्नुहुँदै उक्त बैठक स्थगित गर्नुभएको थियो ।

प्रदेश सभाको आज बस्ने बैठकको कार्यसूचीअनुसार, बिहान ११ बजे बस्ने भनिएको बैठक नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भनिएको कारणले समयमा सुरु हुन नसकी १ः४० को समयमा बैठक सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर