सेवा क्षेत्रमा गतिविधि बढाउँदै पोखराको विन्ध्यवासिनी मन्दिर — OSNepal

सेवा क्षेत्रमा गतिविधि बढाउँदै पोखराको विन्ध्यवासिनी मन्दिर

LC (KTM) October 12, 2023 0

गण्डकी, २५ असोज : पर्यटकीय नगरी पोखराको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले सेवाका काम अघि बढाएको छ । पोखराको जीवन्त इतिहासको साक्षी यो मन्दिर धार्मिक आस्था एवं विश्वासको केन्द्र त हो । पोखराका धार्मिक क्षेत्रमध्ये अग्रणी रहेको मन्दिर समितिले सामाजिक सेवाका गतिविधिमा आफूलाई अघि बढाइरहेको छ । मन्दिरलाई केबल धार्मिक क्षेत्रका रुपमा मात्र नभई यसैका माध्यमबाट सामाजिक सेवाका विभिन्न क्षेत्रलाई पनि प्राथमिकताका साथ अघि बढाइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रसँगै ज्येष्ठ नागरिकलाई लक्षित गर्दै विभिन्न गतिविधि अघि बढाइएको उहाँले बताउनुभयो । समितिकै सक्रियतामा विसं २०५१ मा स्थापित विन्ध्यवासिनी गुरुकूल विद्याश्रममा कक्षा ६ देखि १० सम्म निःशुल्क आवासीय अध्यापन हुँदै आएको छ । गुरुकूलमा हाल ३० विद्यार्थी अध्ययनरत छन् । गुरुकूललाई कक्षा १२ सम्म विस्तार गर्ने योजना अनुरुप मन्दिरको गुठीको हक–भोग स्वामित्वको पोखरा महानगरपालिका वडा नं १८ स्थित २६ रोपनी जग्गामा भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

भवनमा ४० कक्षाकोठा, विद्यार्थी तथा गुरुका लागि आवास, सभाहल आदिको व्यवस्था हुने सचिव श्रेष्ठले जानकारी दिनुभयो । समितिले ज्येष्ठ नागरिकलाई लक्षित गरी विसं २०७२ देखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । ज्येष्ठ नागरिक मिलन केन्द्रबाट दैनिक ७० ज्येष्ठ नागरिकले सेवा लिइरहनुभएको छ । समितिले केन्द्रमा आउने ज्येष्ठ नागरिकलाई लक्षित गरी दिउँसोको चिया, खाजा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने विभिन्न प्रवचन, समय समयमा अवलोकन भ्रमण तथा स्वास्थ्य जाँच आदिको व्यवस्था मिलाइएको छ । केन्द्रकै लागि विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय परिसरमा भवन निर्माण गरिसकिएको छ ।

मन्दिरकै सक्रियतामा विसं २०७१ देखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । समितिले वडा नं १ को नदीपुरमा मन्दिरकै स्वामित्वमा रहेको २१ रोपनी १२ आना क्षेत्रफलको जग्गामा निर्माण गरिएको विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयबाट यही साउन १ गतेदेखि उपचार सेवा प्रदान सुरु गरेको छ । उपचार सेवाका लागि २८ चिकित्सक एवं कर्मचारी व्यवस्था गरिएको छ । चिकित्सालय सञ्चालनका लागि समितिले मासिक रु आठ लाख प्रदान गरिरहेको छ ।

चिकित्सालयबाट हाल बहिरङ्ग सेवा उपलब्ध गराउँदै आइएको चिकित्सक डा समिरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार चिकित्सालयमा दैनिक ६० जनासम्म बिरामी विभिन्न स्वास्थ्य समस्या लिएर आउने गरेका छन् ।

धार्मिक आस्था विश्वासको केन्द्रसँगै मन्दिरलाई सामाजिक सेवाका क्षेत्रमा जोड्ने समितिको लक्ष्य अनुरुप समितिले सेवामूलक गतिविधिलाई जोड दिइरहेको सचिव श्रेष्ठले बताउनुभयो ।

मनले चिताएको पुग्ने जनविश्वाससँगै पुगेका दर्शनार्थी एवं पर्यटक विन्ध्यवासिनी मन्दिरबाट देखिने हिमाली दृश्यमा मोहित हुने गर्दछन् । मन्दिरले पोखराको महत्त्वपूर्ण धार्मिक पर्यटकीयस्थलका रुपमा चासो र चर्चा कमाउँदै आएको छ । मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि कुनै अज्ञात कालखण्डदेखि शक्तिस्थलका रुपमा पुजिँदै आएको पाइन्छ । हालको मन्दिर आजभन्दा अढाइ शताब्दी पुरानो भएको अनुमान गरिएको छ । मन्दिर स्थापना कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहका पालामा भएको हो ।

कास्की जिल्लाको मध्यभागमा २७ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर वरपरको समथर भू–भागबाट केही उच्च थुम्कामा अवस्थित रहनाले पनि यहाँको शोभा बढाएको छ । थुम्कामा मन्दिर रहेका कारण दर्शनार्थीले सिँढी चढेर माथि उक्लनुपर्छ । मन्दिरमा हिँडेर उक्लन नसक्नेका लागि लिफ्टको प्रबन्ध छ । धार्मिक महत्वका साथै पोखराको दृश्यावलोकन एवं मन्दिर परिसरबाट विभिन्न ११ वटा हिमशिखर देख्न सकिन्छ ।

गुम्बज शैलीमा सेतो रङको अष्टभुजाकार रहेको मन्दिरको गजुरबाट तामाको श्रीबन्दी लतारिएको छ । मन्दिरको चारैतर्फ विसं १८९६ यताका विभिन्न मितिमा राखिएका घण्टा छन् । पित्तलको द्वार अघि राखिएका पित्तलबाटै निर्मित दुई सिंहका आकृतिले मन्दिरको शोभा बढाएको छ । मन्दिर वरपर गणेश, हनुमान, सरस्वती, राधाकृष्ण, शिव, नवग्रह तथा अष्टचीरञ्जीवीका मन्दिर छन् ।

मन्दिर परिसरमा समितिले वाटिका बनाएको छ भने मन्दिरको परिक्रमा गर्न प्रदक्षिणा पथ बनाइएको छ । परिसरमा अष्टभुजाकार कुण्डमा साढे चार फिट उचाइको शिवलिङ्ग, पूर्वबाट पश्चिम फर्केका पञ्चधारा, फलैँचालगायत संरचना निर्माण गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थीका लागि शौचालय, पानीको बोरिङ तथा खानेपानी भण्डारणका लागि ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिसकिएको छ ।

यसैबीच समितिले विसं २०६४ देखि आश्विन शुक्ल पक्ष (वडा दसैँ) का अवसरमा सञ्चालन गर्दै आएको नवदुर्गा महोत्सव यस वर्ष पनि गर्न लागेको समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो । यही असोज २८ गते घटस्थापनाका दिन सुरु भई नवमीका दिन सम्पन्न हुने महायज्ञमा हरिशरण पौडेलले सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्नुहुने जनाइएको छ । महोत्सवबाट सांस्कृतिक सद्भावको अभिवृद्धि, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा धार्मिक पर्यटनको विकासमा योगदान पुग्ने विश्वास लिइएको उपाध्यक्ष सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर