नौराते मेला सुरु, तलेजुलाई बाजाहरु बजाएर भित्राइयो दसैँघर — OSNepal

नौराते मेला सुरु, तलेजुलाई बाजाहरु बजाएर भित्राइयो दसैँघर

LC (KTM) October 15, 2023 0

भक्तपुर । घटस्थापनाका दिन आज रातीबाट नौराते अर्थात नवरात्री मेला सुरु भएको छ । आज साँझबाट ब्रम्हायणीमा दर्शनार्थीको भीडा लागेको हो । आज साँझबाट रातीसम्म टोलटोलबाट धिमे बाजा, बासुरी बाजा, छुस्या बाजा लगायतका बाजाहरु बजाएर पूजा लिएर ब्रम्हायणी मन्दिर पुगेर पूर्जा एवं दर्शन गर्ने र मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । बिभिन्न बाजागाजासहित टोल टोलबाट राती मन्दिरमा गएर पूजा गर्ने परम्परा रहेको छ । घट्स्थापनादेखि नौ दिनसम्म राती शक्तिपीठमा मेला लाग्ने भएकाले नौराते मेला अर्थात नवरात्री मेला भन्ने गरिएको संस्कृतविद ओमप्रकाश धौभडेलले जानकारी दिनुभयो ।

घटस्थापनाको दिनबाट सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोल टोलबाट राती मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ ।

नवरात्री मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद धौभडेलले बताउनुभयो ।

नवमीको दिन राती महिषासुर दैत्यको प्रतीकका रुपमा लिइने खमेय (राँगो) जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमेय (राँगो) लाई दौडाउँदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातभरी र दशमीको दिनभरी ब्रम्हायणी मन्दिरमा हजारौँको भीडमा मेला लाग्ने गर्दछ ।

त्यसको भोलीपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्हयाकेगू जात्रा पनि भन्ने गर्दछन् । भक्तपुरमा दसैँमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रुपमा नौराते अर्थात नवरात्री जात्रा चलिआएको उहाँको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दसैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उहाँले जानकारी दिनुभयो । यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरिएको छ ।

तलेजु भवानीलाई भित्रयाइयो दसैँघर
त्यसैगरी आज भक्तपुरको तलेजु भवानीलाई मूलघरबाट दसैँघर भित्रयाइएको छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैंघरमा भित्रयाएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैंघरमा राखेर पूजा गर्ने परम्परा रहेको उहाँले बताउनुभयो । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बली दिने परम्परा छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती गरेपछि तलेजुमा बली दिने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर