महाकाली बगरमा ‘बिच भलिबल’ जारी — OSNepal

महाकाली बगरमा ‘बिच भलिबल’ जारी

LC (KTM) October 17, 2023 0

महेन्द्रनगर (कञ्चनपुर) ३० असोज : कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुल्ला बिच भलिबल प्रतियोगिताअन्तर्गत आज बिहानबाट खेल सञ्चालन भइरहेको छ । यहाँस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा प्रथम पुरुष खुल्ला तथा भेट्रान भलिबल प्रतियोगिताको सोमबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभएको थियो । भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिच भलिबल पहिलो पटक आयोजना गरिएको हो ।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा खुल्लातर्फ २३ टिम र भेट्रानतर्फ ११ वटा टिम सहभागी रहेको भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो ।

हालसम्म पाँच खुल्ला र तीन भेट्रानतर्फका खेल भइसकेको जानकारी उहाँले दिनुभयो । शुक्लाफाँटादेखि झोलुङ्गे पुल हँुदै भाइरल रोडलगायत यहाँका पर्यटकीय क्षेत्रको खेल पर्यटनका माध्यमबाट प्रचारप्रसार गर्न लागिएको हो । खुल्लातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र पदकबाट पुरस्कृत हुने आयोजकले जनाएको छ ।

त्यसैगरी द्वितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र पदकबाट पुरस्कृत हुनेछन् । त्यसैगरी भेट्रान (४० वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिमले रु १० हजार नगद, ट्रफी र पदकसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका र दोधारा चादँनी नगरपालिकाले पुरस्कार राशि प्रायोजन गरेका हुन् । नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डासँगै व्यवस्थापनमा रुद्रध्वज गण मझगाउँ ब्यारेक र श्रीदल गुल्म खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर