इच्छाकामनाका किसान भन्दछन् –‘खसीबोकाको मूल्य नै पाइएन’ — OSNepal

इच्छाकामनाका किसान भन्दछन् –‘खसीबोकाको मूल्य नै पाइएन’

LC (KTM) October 22, 2023 0

भरतपुर, ५ कात्तिक ः चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताउनुभयो । “दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन”, उहाँले भन्नुभयो, “केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।” उहाँले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गर्नुभएको हो । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।

यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भन्नुभयो । “खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो”, उहाँले भन्नुभयो, “अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।”

कोयलघारीकै डोपबहादुर गुरुङलाई विगत्को वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उहाँले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ । घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उहाँले बताउनुभयो । खसीबोका बिक्रीबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गर्नुभएको छ । उहाँले पाँच दिन अगाडि खसीबोका बिक्री गर्नुभएको हो । “यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन् । बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ”, उहाँले भन्नुभयो ।

कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा हुनुहुन्छ । यसपटक दसैँ खर्च जोहो गर्न चार खसी बेच्ने उहाँले बताउनुभयो । “३० बाख्रा छन् । चार वटा पाठा बेच्न नारायणघाट जाने हो”, उहाँले भन्नुभयो, “छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो ।” प्रत्येक वर्ष खसीबोका बेचर दसैँ मनाउने गरेको उहाँले सुनाउनुभयो । खानीगाउँ र कुलयघारीमा एक सय आठ घरधुरी छन् । अधिकांशको घरमा कम्तीमा २० बाख्रा छन् । गाईभैँसी कम पाल्दै आएका उनीहरुको मुख्य आम्दानी बाख्रा नै हो । अधिकांशले दसैँमा खसीबोका बेचेर मनाउने गर्दछन् ।

अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो छ सय रुपैयाँसम्म मूल्य पारेका थिए । अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा सुनील ज्ञवाली बताउनुभयो । पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेच्नुभएको छैन”, उहाँले भन्नुभयो, “उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गर्नुभएको छ ।” अहिले बजारमा काटेर ठिक्क पारेका खसीको मासु एक हजार दुई सयमा बिक्री भइरहेको छ । इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्याङ्क छ । दसैँमा खसीबोकाको कारोबार भने यकीन नभएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर